Sunday 26 July 2026 / आईतवार, १० श्रावण २०८३

दाङ, तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो ।केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । सडक र अन्य आधारभूत पूर्वाधार विस्तार भएसँगै वर्षायाममा पनि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य छ ।

वैशाख–जेठको तुलनामा वर्षायाममा पर्यटकको चहलपहल केही घटे पनि झरना अवलोकन गर्न दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । झरनाको छेउमा पुगेपछि अधिकांश आगन्तुक केही समय प्रकृतिमा रमाउँछन्, तस्बिर र सेल्फी खिच्छन् अनि झरनाबाट खसेको पानीले बनाएको प्राकृतिक पोखरीको मनोरम दृश्यलाई आफ्ना क्यामेरामा कैद गर्छन् । गर्मीयाममा भने यही पोखरी पौडी खेल्नेहरूको रोजाइ बन्छ ।झरनाको व्यवस्थापनमा कार्यरत कर्मचारी कुलबहादुर बुढाका अनुसार अहिले दैनिक करिब ३०० जनासम्म पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् भने सार्वजनिक बिदाको दिन यो सङ्ख्या अझ बढ्छ । “दाङका विभिन्न स्थानसँगै बाँके, सल्यान, रोल्पा, सुर्खेतलगायत जिल्लाबाट र भारतबाटसमेत पर्यटक आउँछन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार प्रवेश शुल्क नलिए पनि पार्किङ शुल्कबाट सङ्कलित रकम कर्मचारीको पारिश्रमिक तथा झरनाको संरक्षण र पूर्वाधार विकासमा खर्च गरिन्छ ।

पुरन्धरा झरनाको अर्को विशेषता यसको प्राकृतिक बनोट हो । झरनाबाट खसेको पानी तल प्राकृतिक पोखरीजस्तो भागमा जम्मा हुन्छ र विस्तारै बबई नदीमा मिसिन्छ । झरनाको वरिपरि बाक्लो वन, चरा–चरुङ्गीको चिरबिराहट र नदीको सङ्गीतले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर प्रकृतिसँगै हराउन बाध्य बनाउँछ ।तुलसीपुरबाट साथीहरूसँग झरना अवलोकन गर्न पुग्नुभएका ज्येष्ठ नागरिक तथा योग प्रशिक्षक घनश्याम अधिकारीले यहाँ अझ धेरै सम्भावना रहेको बताउनुहुन्छ । “बाटो राम्रो बनेपछि पहिलोपटक यहाँ आएँ, निकै राम्रो भएको रहेछ,” उहाँले भन्नुभयो, “बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, वन्यजन्तु र चराचुरुङ्गी अवलोकनजस्ता गतिविधि थप्न सके यो पश्चिम नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

ज्येष्ठ नागरिक इन्द्रलाल खत्रीका अनुसार झरनामा आउने पर्यटकका लागि चमेना गृह, शौचालय, विश्रामस्थल र अन्य आवश्यक पूर्वाधार विस्तार गर्न सके स्थानीयको आयआर्जनसमेत बढ्न सक्छ । “यो प्राकृतिक सम्पदाको सही उपयोग गर्नसके यहाँको आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउन सक्छ”, उहाँले भन्नुभयो ।

पुरन्धरा झरनाले प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक पृष्ठभूमि पनि बोकेको छ । स्थानीयका अनुसार शताब्दीअघि यो क्षेत्र घना जङ्गलले ढाकिएको थियो। घाँसदाउरा गर्न तथा गाईबस्तु चराउन जङ्गल जाने स्थानीयले आवतजावतका क्रममा यो झरनाको पहिचान गरेका थिए । अहिले पनि झरनाको करिब १०० मिटरको दूरीमा रहेको सिद्धेश्वर महादेव मन्दिरमा शिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीका अनुसार झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना कार्यान्वयन भइरहेको छ । उहाँले गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सङ्घ सरकारको सहयोगमा सडक, सिँढी र अन्य पूर्वाधार निर्माण गरिएकाले अहिले वर्षभरि नै झरनामा सहज रूपमा पुग्न सकिने बताउनुभयो । “पहिले वर्षायाममा यहाँ आउन निकै कठिन थियो”, उहाँले भन्नुभयो, “अहिले पक्की सडक र अन्य संरचना बनेपछि जुनसुकै मौसममा पनि पर्यटक आउन सक्ने अवस्था बनेको छ ।”

तुलसीपुर–हापुरे–सुर्खेत सडकखण्डअन्तर्गत टवाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको पुरन्धरा झरना अहिले दाङ आउने धेरै आगन्तुकको ‘अनिवार्य गन्तव्य’ बन्न थालेको छ । प्रकृतिको अनुपम उपहार, बढ्दो पूर्वाधार र स्थानीयको सक्रियताले यो झरनाले पश्चिम नेपालको पर्यटन नक्सामा अझ बलियो पहिचान बनाउने सङ्केत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय