Thursday 30 July 2026 / बिहीबार, १४ श्रावण २०८३

चितवन, सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो । सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ”

यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खट्नुभएका डा विजय पौडेल पहिले पहिले विषालु सर्पले टोकेका २५ प्रतिशतसम्मको मृत्यु हुने गरेको बताउनुहुन्छ । आव २०५९/०६० तिरको समयमा अस्पतालमा वर्षभरिमा ६०० हाराहारी सर्पदंशका बिरामी आउने गरेकोमा २५० हाराहारी विषालु सर्पले डसेका हुने गर्दथ्यो । अस्पतालमा आव २०६४/०६५ मा सघन उपचार कक्ष बनाएपछिका वर्षहरुमा सात प्रतिशत हाराहारीको निधन हुन थाल्यो । यो प्रतिशत क्रमशः घट्दै आएर २०७५ / ०७६ मा पाँच प्रतिशतमा झरेको उहाँ बताउनुहुन्छ ।

यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकांश लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विषालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उहाँले जानकारी दिनुभयो । प्रा पौडेल अवकास भएपछि सर्पदंशका बिरामी हेर्दै आउनु भएका डा प्रमोद पौडेल सर्पले डसेर अस्पताल आएका बिरामीको मृत्युदर शून्य आशपासमा आएको बताउनुहुन्छ । कुनै वर्ष एकदुई जनाको मृत्यु हुने र कुनै वर्ष शून्य रहने गरेको छ ।

गत आवमा सर्पको डसाइले अस्पताल आएका कसैको पनि ज्यान गएको छैन । अघिल्लो आवमा अस्पताल आउँदा आउँदै बाटोमा एक जनाको मृत्यु भएको तथ्याङ्क छ । पहिले–पहिले एक जना बिरामीलाई २०० भाइलसम्म एन्टिस्नेक भेनम दिने गरेको भए पनि हिजो आज विष देखिएकालाई १० भाइलबाट सुरु गरेर बढीमा ३० भाइलसम्म दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालले गत एक वर्षमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अस्पतलाको आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ती सङ्ख्यामा सर्पदंशका बिरामी रहेका थिए ।

आकस्मिक कक्षका प्रमुख अलाउद्दिन मियाका अनुसार गत वर्ष आएका बिरामीमध्ये १४ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो । सो वर्ष सबैभन्दा धेरै साउन महिनामा सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गत वर्ष साउन महिनामा मात्र १३१ जना सर्पदंशका बिरामीले उपचार लिएका थिए । यसमध्ये तीन जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै भदौमा ९८ जनाको उपचार गरिएकोमा सात जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । असोजमा आएका ७७ जना सर्पदंशका बिरामी मध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको थियो । जेठमा ३६ जनाको उपचार गरिएकोमा एक जनाको सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

कात्तिकमा ५० जना, मङ्सिरमा आठ जना, पुसमा चार जना, माघमा तीन जना, फागुनमा १० जना, चैतमा १० जना, वैशाखमा ३१ जना, र असारमा ३३ जना सर्पदंशका बिरामीको उपचार भरतपुर अस्पतालमा गरिएको थियो । उहाँका अनुसार चितवन सहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले अस्पतालमा सेवा लिएका हुन् ।

चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिन्छ ।

सर्पदंशका बिरामीहरु बढी सङ्ख्यामा वर्षातको समयमा आउने गरेको छन् । खेती पाती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्ष्यण देखिने उहाँले बताउनुभयो । विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ । रुखहरुमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्ष्यण देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा कोभ्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय