Sunday 2 August 2026 / सोमबार, १८ श्रावण २०८३

काठमाडौं, साउन १७ – काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ आइतबार सम्पन्न भएको छ।



३५ जना प्रशिक्षार्थी सहभागी रहेको तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि यस्ता प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले दक्ष जनशक्ति उत्पादनले चलचित्र निर्माण, प्रचार–प्रसार तथा अभिलेखीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

समापन समारोहकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्दै ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जुलकुमार श्रेष्ठ र वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही ३५ हजार रुपैयाँ राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो।

कार्यवाहक प्रमुख डंगोलले सीपमूलक तालिमले युवाहरूलाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौं महानगरभित्र रहेका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रभावकारी प्रचार–प्रसारमा उपयोग गर्न आग्रह गर्नुभयो।



काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। समापन कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शब्द/तस्बिर : रासस / प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय