काठमाडौं, दुर्लभ खग्रास सूर्यग्रहण बुधबार लाग्दैछ। यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, स्पेन तथा पोर्चुगलका केही भूभागबाट देखिनेछ।
नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश क्षेत्रबाट भने यो सूर्यग्रहण देखिने छैन। चन्द्रमाको पूर्ण छाया उत्तरी गोलार्धका उच्च अक्षांश हुँदै जाने भएकाले नेपाल ग्रहणको मार्गमा नपरेको हो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिने यो पहिलो खग्रास सूर्यग्रहण हो।
पूर्ण ग्रहणको मार्गमा करिब डेढ करोड मानिस पर्ने अनुमान गरिएको छ भने उत्तरी गोलार्धका विभिन्न स्थानबाट करिब ९८ करोड मानिसले आंशिक सूर्यग्रहण देख्न सक्नेछन्। अधिकांश स्थानमा पूर्ण ग्रहणको अवधि दुई मिनेटभन्दा कम रहने जनाइएको छ।


