ग्वाङ्झाउ (चीन), गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ मा सहभागी हुन नेपालसहित बिश्वबाट र एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकबाट प्रतिनिधि तथा संघका अगुवा ग्वाङ्झाउमा भेला भएका छन्। अगस्ट १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनलाई सभ्य, व्यवस्थित र भव्य बनाउन आयोजक टोलीले अन्तिम तयारी पूरा गरेको छ।
सम्मेलनमा सहभागी हुन प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल,मनिष झा र खगेन्द्र सुनार तथा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर तथा सांसदहरु
युवराज दुलाल, क्षितिज थेबे, खुश्बु ओली, एरेन राई सहभागीका लागि आईसकेका छन।
त्यस्तै, पूर्वसांसद सूर्य पाठक तथा अरुणकुमार सुवेदी लगायत दर्जनौ मिडियाकर्मीको
सहभागिता रहेको छ।कायक्रममा आएका सांसद विभिन्न सत्रमा सहभागी हुँदै उनीहरूले नेपाल, प्रवासी नेपाली र डायस्पोरासँग जोडिएका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ। एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सल्लाहकार भवानी ओली, अध्यक्ष डा. हेमराज शर्मा, वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष खगेन्द्र न्यौपाने, उपाध्यक्ष महेन्द्र ओली, उपाध्यक्षह्प बज्राचार्य तथा महासचिव डा. चिरञ्जीवी खड्कासहित केन्द्रीय नेतृत्व पनि ग्वाङ्झाउ पुगिसकेका छ।
त्यसैगरी एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेल, उपक्षेत्रीय संयोजक भविन्द्र बस्नेत, लालसिंह खड्का, राकेशप्रसाद महतो तथा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठलगायत विभिन्न क्षेत्रका पदाधिकारी पनि सम्मेलनस्थलमा पुगेका छन्। एसिया प्यासिफिक क्षेत्रअन्तर्गतका विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारीहरूको समेत ग्वाङ्झाउमा उपस्थिति भइसकेको आयोजकले जनाएको छ।क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा हुने सम्मेलनमा नेपालमा व्यापार तथा लगानी प्रवर्द्धन, लजिस्टिक्स क्षेत्रको विकास, एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरूको संस्थागत सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार, पुनःएकीकरण तथा आप्रवासी कामदारका अधिकारका विषयमा छलफल हुनेछ।
सीमापार मानव बेचबिखन नियन्त्रण, गैरआवासीय नेपाली नागरिकताको निरन्तरता तथा अधिकार, पर्वतीय तथा स्वास्थ्य पर्यटनमार्फत नेपालको पर्यटन प्रवर्द्धन, महिला सशक्तीकरण, दोस्रो पुस्ताका नेपालीको पहिचान तथा नेतृत्व विकास र एनआरएनएको विश्वव्यापी सञ्जाल विस्तार पनि सम्मेलनका प्रमुख एजेन्डा छन्। एनआरएनएको सांगठनिक पहिचान र भावी रणनीतिलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यसहितको ‘रि–ब्रान्डिङ’ सत्रलाई सम्मेलनको विशेष आकर्षणका रूपमा हेरिएको छ। बदलिँदो विश्व परिवेशमा डायस्पोरा संस्थाको भूमिका, संरचना र प्राथमिकताबारे यस सत्रमा महत्वपूर्ण बहस हुने अपेक्षा गरिएको छ।
विभिन्न प्लेनरी तथा विषयगत सत्रपछि अगस्ट १६ मा ‘ग्वाङ्झाउ घोषणापत्र–२०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ। घोषणापत्रमार्फत सम्मेलनमा उठेका प्रमुख सवाल र आगामी कार्यदिशालाई संस्थागत रूपमा अघि बढाउने तयारी छ।सम्मेलनको अन्तिम दिन अगस्ट १७ मा सहभागी प्रतिनिधिहरूका लागि ग्वाङ्झाउबाट करिब ७०–८० किलोमिटर टाढा रहेको छिङयुआनस्थित प्रसिद्ध गुलोङ गोर्ज ग्लास ब्रिज (Gulongxia) को अवलोकन भ्रमणसमेत आयोजना गरिएको छ। एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आयोजक टोलीले सम्मेलनलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन लामो समयदेखि तयारी गर्दै आएको छ। सहभागीहरूको व्यवस्थापन, कार्यक्रम सञ्चालन, विषयगत सत्रको समन्वय तथा विभिन्न देशबाट आउने एनसीसीका प्रतिनिधिहरूबीचको सहकार्यलाई प्राथमिकतामा राखिएको छ।
नेपालसहित एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकबाट संघका नेतृत्व, पदाधिकारी, प्रतिनिधि, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता भएकाले यसपटकको ‘आरोहण–२०२६’ विगतका सम्मेलनभन्दा अझ व्यापक र प्रभावकारी हुने देखिएको छ। एनआरएनएका केन्द्रीय नेतृत्वदेखि क्षेत्रीय तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीसम्मको उल्लेख्य उपस्थितिले ग्वाङ्झाउ सम्मेलनलाई केवल औपचारिक जमघटभन्दा पनि एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली डायस्पोराबीच सहकार्य, लगानी, पर्यटन र संस्थागत एकताको नयाँ आधार तयार गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित गरेको छ।
सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप मजबुत बनाउँदै नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार र आर्थिक समृद्धिमा डायस्पोराको योगदान बढाउने दिशामा ठोस सन्देश दिने अपेक्षा गरिएको छ। विभिन्न मुलुकबाट भइरहेको सहभागिता, नेतृत्वको उपस्थितिसँगै आयोजक टोलीको सक्रिय तयारीले ग्वाङ्झाउमा हुने ‘आरोहण–२०२६’ भव्य, व्यवस्थित र अर्थपूर्ण हुने संकेत गरेको छ।


