विद्यालय तहका बालबालिकाहरूमा आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा व्यक्तित्व विकासको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित लिटिल ग्ल्याम रनवे भव्यताका साथ सम्पन्न भएको छ। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न प्रतियोगिताले बालप्रतिभाहरूलाई आफ्नो क्षमता, प्रस्तुति कला तथा व्यक्तित्व प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो। प्रतियोगिताको बालिकातर्फ बिर्सिका बस्नेत विजेता घोषित भइन्। प्रतियोगिताभरि उनको आत्मविश्वासपूर्ण प्रस्तुति, आकर्षक व्यक्तित्व तथा प्रभावशाली मञ्च उपस्थितिले निर्णायकहरूको ध्यान आकर्षित गरेको थियो। उनले मुख्य उपाधिसँगै मोस्ट पपुलर र मोस्ट कन्फिडेन्ट शीर्षकसमेत आफ्नो नाममा पार्न सफल भइन्। बालकतर्फ सुहान श्रेष्ठ विजेता बने। बौद्धिक क्षमता, सशक्त प्रस्तुति र उत्कृष्ट आत्मविश्वासका कारण उनले प्रतियोगितामा विशेष छाप छोडे। उनले विजेताको उपाधिसँगै मोस्ट इन्टेलिजेन्ट, मोस्ट फोटोजेनिक तथा ट्यालेन्ट अवार्डसमेत जिते।

विशेष उपाधि विजेताहरूमा आयान्श चन्द्र अमात्यले फ्यान च्वाइस र बेस्ट पर्सनालिटी उपाधि प्राप्त गरे। त्यसैगरी रोहिना भण्डारीले मोस्ट पपुलर, फ्यान च्वाइस, मोस्ट सिन्सियर तथा ट्यालेन्ट जस्ता बहुप्रतिष्ठित उपाधिहरू जित्दै प्रतियोगितामा आफ्नो विशिष्ट उपस्थिति प्रमाणित गरिन्। स्वर्णिमा बिष्टले अर्गनाइजर च्वाइस अवार्ड र मोस्ट चार्मिङ उपाधि प्राप्त गर्दै विशेष सम्मान हासिल गरिन्। डी.ई. इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको नेतृत्व अमिषा ओलीले गरेकी थिइन् भने कार्यक्रम व्यवस्थापनको जिम्मेवारी विवश सिंह थापाले सम्हालेका थिए। कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए। बालबालिकाको समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको लिटिल ग्ल्याम रनवे केवल प्रतियोगिता मात्र नभई सहभागीहरूलाई आफ्ना सपना पछ्याउन, आत्मविश्वासका साथ आफूलाई अभिव्यक्त गर्न तथा भविष्यका अवसरहरूका लागि आवश्यक जीवनोपयोगी सीपहरू विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ।


