युवा प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता, व्यक्तित्व विकास तथा नेतृत्व क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित टिन भोग नेपाल भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा देशभरबाट सहभागी भएका किशोर–किशोरीहरूले आफ्नो प्रतिभा, व्यक्तित्व र प्रस्तुति कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिताको महिला तर्फ प्रसुना हमाल विजेता घोषित भइन्। उनले मुख्य उपाधिसँगै मिस फोटोजेनिक, बेस्ट वाक तथा मिस मल्टिमिडिया उपाधिसमेत जित्दै आफ्नो उत्कृष्ट प्रस्तुति र प्रभावशाली व्यक्तित्वको छाप छोड्न सफल भइन्। पुरुष तर्फ म्याडी रोकाया विजेता बने। उनले मोस्ट फ्रेन्ड्ली पर्सनालिटी र बेस्ट वाक उपाधिसमेत हात पार्दै आफ्नो आत्मविश्वास, आकर्षक व्यक्तित्व तथा उत्कृष्ट र्याम्प प्रस्तुतीका कारण निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भए।

महिला तर्फ सलिनी साह प्रथम उपविजेता बनिन्। उनले आफ्नो विशेष प्रतिभाका कारण मोस्ट ट्यालेन्टेड उपाधिसमेत प्राप्त गरिन्। त्यसैगरी पुरुष तर्फ इमरान अली प्रथम उपविजेता घोषित भए। उनले मिस्टर मल्टिमिडिया र बेस्ट बडी उपाधि जित्दै प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति दर्ज गराए।
प्रतियोगितामा रितु देव र कृष्चल बस्नेत लाई अर्गनाइजर च्वाइस अवार्ड प्रदान गरिएको थियो। त्यस्तै सौरभ कडायत र अलिशा चौलागाईं लाई प्रतियोगिताको आधिकारिक ब्राण्ड एम्बासडर घोषणा गरिएको थियो। डी.ई. इभेन्ट्सको ब्यानरमा अमिषा ओली द्वारा आयोजित प्रतियोगिताको व्यवस्थापन विभास सिंह थापाले गरेका थिए। कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन वरिष्ठ फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए। उनको व्यावसायिक प्रस्तुति, सशक्त मञ्च सञ्चालन र आकर्षक कोरियोग्राफीले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। प्रतियोगिताले सौन्दर्य र प्रस्तुतीकरणलाई मात्र होइन, प्रतिभा, आत्मविश्वास, सञ्चार कौशल, नेतृत्व क्षमता तथा समग्र व्यक्तित्व विकासलाई समेत प्राथमिकता दिएको आयोजकले जनाएको छ।


