पोखरा, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ फोटो पत्रकारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमणका क्रममा स्वागत तथा बिदाइ गरेका छन्।


पोखरा भ्रमणका क्रममा मेयर आचार्यले बंगलादेशी फोटो पत्रकारहरूलाई खादा, नेपाली टोपी तथा मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए।


सो अवसरमा मेयर आचार्यले नेपालको पर्यटन राजधानीका रूपमा परिचित पोखरा भ्रमणका लागि बंगलादेशबाट आएका वरिष्ठ फोटो पत्रकारहरूलाई धन्यवाद दिँदै स्वागत गरेका थिए। उनले बंगलादेशबाट पछिल्लो समय नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै गएको उल्लेख गर्दै पोखराले पनि बंगलादेशी पर्यटकलाई आकर्षित गरिरहेकोमा खुसी व्यक्त गरे।


उनले बंगलादेशका फोटो पत्रकारहरूले आफ्नो सञ्चारमाध्यम, फोटो तथा सामाजिक सञ्जालमार्फत पोखरा र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए। पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, फेवाताल, संस्कृति तथा पर्यटकीय गतिविधिलाई विश्वसामु चिनाउन फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।


मेयर आचार्यले बंगलादेशबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सञ्चालन गर्ने विषय पनि छलफल तथा प्रक्रियाको चरणमा रहेको जानकारी गराए। भुटान एयरलाइन्समार्फत बंगलादेश–पोखरा उडान सञ्चालन गर्ने विषय पाइपलाइनमा रहेको जानकारी पाएपछि बंगलादेशी फोटो पत्रकारहरूले खुसी व्यक्त गरेका थिए।

बंगलादेशबाट पोखरासम्म नियमित प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सके दुई देशबीचको पर्यटन प्रवद्र्धन थप सहज र प्रभावकारी हुने उनीहरूले बताएका थिए। साथै, अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पनि पोखरालाई गन्तव्य बनाएर उडान सञ्चालन गरेमा नेपाल–बंगलादेश पर्यटन तथा आर्थिक सहकार्य अझ विस्तार हुने उनीहरूको भनाइ थियो।

बंगलादेशी फोटो पत्रकारहरूले पोखरा भ्रमणका क्रममा यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन, संस्कृति र जीवनशैलीलाई फोटोमार्फत अभिलेखीकरण गर्दै बंगलादेशमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको व्यावसायिक सम्बन्ध, अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध तथा पर्यटन प्रवद्र्धनलाई थप मजबुत बनाउने उद्देश्यले एनएफपीजे नेपालको निमन्त्रणामा १२ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो। भ्रमणले दुई देशका फोटो पत्रकारबीचको सम्बन्ध विस्तारसँगै नेपालमा बंगलादेशी पर्यटक आकर्षित गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


