Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न मिस ग्राण्ड नेपाल सिजन ९ को भव्य ग्राण्ड फिनाले विविध प्रतिभा, सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक गौरवको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सुष्मिता बोम्जन विजेता घोषित हुँदै मिस ग्राण्ड नेपाल सिजन ९ को प्रतिष्ठित उपाधि आफ्नो नाम गर्न सफल भइन्। उपाधिसँगै उनले नगद रु. २५ हजार, आकर्षक थाङ्का कला, अन्तर्राष्ट्रिय हवाई टिकट तथा विभिन्न उपहारहरू प्राप्त गरिन्। साथै उनले मिस ट्यालेन्ट उपाधिसमेत जित्दै आफ्नो बहुआयामिक प्रतिभा प्रमाणित गरिन्।

यसैगरी अरुणिमा लम्साल ले मिस ग्राण्ड युनिभर्स को उपाधि हासिल गर्दै नगद रु. १५ हजार र विशेष सम्मानस्वरूप फ्रेम गरिएको थाङ्का प्राप्त गरिन्। आयिशा राउत ले मिस ग्राण्ड अर्थ को ताज पहिरिँदै नगद रु. १० हजार तथा थाङ्का पुरस्कार प्राप्त गरिन्। उनले मोस्ट क्रियटिभ र मिस मल्टिमिडिया शीर्षक समेत जितेर प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति दर्ज गराइन्।

प्रतियोगिताको प्रारम्भ नेपालका विभिन्न जातजाति तथा समुदायको मौलिक पहिचान झल्काउने सांस्कृतिक तथा जातीय पोशाक प्रस्तुतिबाट गरिएको थियो। रंगीन तथा आकर्षक प्रस्तुतिले नेपालको सांस्कृतिक विविधता र परम्परागत सम्पदालाई जीवन्त रूपमा उजागर गर्दै कार्यक्रमलाई विशेष बनाएको थियो।
दोस्रो चरणमा प्रतियोगीहरू आकर्षक रातो ककटेल पहिरनमा मञ्चमा उत्रिएका थिए। प्रश्नोत्तर सत्रमार्फत उनीहरूले आफ्नो बौद्धिक क्षमता, अभिव्यक्ति कला, समसामयिक विषयप्रतिको दृष्टिकोण तथा आत्मविश्वास प्रस्तुत गरेका थिए।

अन्तिम प्रतिस्पर्धात्मक चरणमा प्रतियोगीहरूले डिजाइनर समिक्ष्या लामिछाने द्वारा तयार पारिएका विशेष डिजाइनका पोशाकहरू प्रदर्शन गरेका थिए। आकर्षक र कलात्मक सिर्जनाले प्रतियोगितालाई थप भव्यता प्रदान गर्नुका साथै सहभागीहरूको व्यक्तित्व, सौन्दर्य र मञ्चीय प्रस्तुतिलाई अझ प्रभावशाली बनाएको थियो।
आरके इन्टरटेन्मेन्ट ग्रुप द्वारा आयोजित प्रतियोगिता संस्थाका अध्यक्ष लक्की राम के.सी. तथा प्रमुख कार्यकारी अधिकृत निशा आचार्य को नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन वरिष्ठ फेसन कोरियोग्राफर, सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रोजिन शाक्य ले गरेका थिए।
प्रदेशगत उपाधितर्फ दीप्ति झा ले मिस ग्राण्ड मधेश तथा मिस ग्ल्यामर उपाधि जितिन्। सबिना सेन्चुरी मिस ग्राण्ड बागमती घोषित भइन् भने ओमकला माझी ले मिस ग्राण्ड कोशी तथा फोटोजेनिक उपाधि हासिल गरिन्। त्यस्तै ग्रीष्मा चौधरी मिस ग्राण्ड पूर्वाञ्चल घोषित भइन्। महिला सशक्तीकरण, नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धिलाई केन्द्रमा राखेर आयोजना गरिएको मिस ग्राण्ड नेपाल सिजन ९ केवल सौन्दर्य प्रतियोगिता मात्र नभई प्रतिभा, चेतना, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई सम्मान गर्ने सशक्त मञ्चका रूपमा स्थापित भएको छ। यस्ता कार्यक्रमले भविष्यमा नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाउने सक्षम र प्रेरणादायी व्यक्तित्वहरू उत्पादन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय