Thursday 20 August 2026 / बिहीबार, ४ भाद्र २०८३

नमुना कलेज अफ फेसन टेक्नोलोजी (NCFT) को बहुप्रतीक्षित २१औँ ग्राजुएसन फेसन शो ‘अनन्तरूपवितानम्’ (Anantarūpavitānam) का लागि मोडल छनोट प्रक्रिया सम्पन्न भएको छ। आगामी १० अक्टोबर २०२६ मा ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने यस प्रतिष्ठित शैक्षिक फेसन प्रस्तुतिका लागि देशभरबाट करिब २०० जना मोडल आकांक्षी अडिसनमा सहभागी भएका थिए। उत्साहजनक सहभागिताबीच सम्पन्न अडिसनले नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा नयाँ पुस्ताको बढ्दो आकर्षण र सम्भावनालाई समेत प्रतिबिम्बित गरेको छ। व्यावसायिक मापदण्डमा आधारित कठोर मूल्याङ्कनपछि ३१ जना मोडललाई यस वर्षको ग्राजुएसन फेसन शोका लागि अन्तिम रूपमा छनोट गरिएको हो। मूल्याङ्कनका क्रममा र्‍याम्प वाक, आत्मविश्वास, शारीरिक सन्तुलन, पोस्चर, स्टेज प्रेजेन्स, भाव–अभिव्यक्ति, व्यक्तित्व, अनुकूलन क्षमता तथा समग्र प्रस्तुतीकरणलाई प्रमुख आधार बनाइएको थियो। मोडलको व्यक्तिगत क्षमतासँगै उनीहरूको प्रस्तुति सम्बन्धित डिजाइनरका सिर्जनात्मक अवधारणासँग कत्तिको मेल खान्छ भन्ने पक्षलाई समेत विशेष महत्त्व दिइएको थियो। यस क्रममा पहिरनको सिल्हुट, डिजाइन डिटेलिङ, कपडाको प्रकृति, रङ संयोजन, स्टाइलिङ तथा कलेक्सनको समग्र सौन्दर्यशास्त्रलाई सूक्ष्म रूपमा विचार गरिएको थियो।

अन्तिम छनोटमा ५ पुरुष र २६ महिला मोडल रहेका छन्। पुरुषतर्फ सरद के.सी., आशुतोष लामिछाने, एल्भिन प्रजापति, विवेक खड्गी र कपिल न्यौपाने छनोट भएका छन्। महिला मोडलतर्फ एड्रियाना वाग्ले, निशा श्रेष्ठ, सिवानी अधिकारी, रिया डर्नाल, सुगन्धा अधिकारी, अनुष्का कार्की, स्नेहा ताम्राकार, आयुष्मा तामाङ, विशाखा डंगोल, यज्जु कर्माचार्य, खुसी बोहरा, लिजा श्रेष्ठ, अनिता श्रेष्ठ, सुवाङ्गी लोहोनी, प्रियंका ओली, भेनस खवास, दिव्या कार्की, अमिशा श्रेष्ठ, पूजा अचामी, प्रेरणा चौधरी, प्रिन्सेस मल्ल, प्रनिशा राई, समृद्धि खड्का, निरिश्मा शाही, टिका घिमिरे र त्रिशा चेम्जोङ रहेका छन्।
यस वर्षको ग्राजुएसन फेसन शोको मूल अवधारणा “Cosmic Threads of Heritage: Nepal Beyond Time and Universe” रहेको छ, जसलाई संस्कृत शीर्षक ‘अनन्तरूपवितानम्’ मार्फत अभिव्यक्त गरिएको छ। ‘अनन्तरूपवितानम्’ ले सौन्दर्य, पहिचान, संस्कृति र सिर्जनात्मकताको अनन्त स्वरूपलाई संकेत गर्दछ। समय र भौगोलिक सीमाभन्दा पर नेपाली सम्पदा, मानवीय अभिव्यक्ति र समकालीन सिर्जनशीलतालाई ब्रह्माण्डीय अवधारणासँग जोड्दै प्रस्तुत गर्नु यस वर्षको शोको वैचारिक केन्द्र हो। विविधता र मौलिकताबीचको अन्तर्सम्बन्धलाई फेसनको भाषामार्फत प्रस्तुत गर्ने यसको उद्देश्य रहेको छ।

‘अनन्तरूपवितानम्’ अन्तर्गत ६ वटा विशेष कलेक्सन, ५४ वटा मौलिक फेसन एन्सेम्बल तथा ६ वटा अवधारणात्मक मास्टरपिस प्रस्तुत गरिनेछन्। यी सिर्जना NCFT को २१औँ ब्याचका ५४ जना स्नातक फेसन डिजाइनर विद्यार्थीहरूले तयार गरेका हुन्। विशेष पक्ष के हो भने, विद्यार्थीहरू डिजाइनरका रूपमा मात्र नभई कार्यक्रमको आयोजना, व्यवस्थापन तथा कार्यान्वयन प्रक्रियामा समेत प्रत्यक्ष रूपमा संलग्न छन्। यसले शैक्षिक पाठ्यक्रमबाट प्राप्त ज्ञानलाई वास्तविक फेसन उद्योगको कार्यप्रणालीसँग जोड्ने व्यावहारिक अवसर प्रदान गर्नेछ। दुई दशकभन्दा लामो समयदेखि NCFT नेपालमा फेसन शिक्षाको विकास र व्यावसायिकीकरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्था हो। यसले फेसन डिजाइन, उद्यमशीलता, स्टाइलिङ, शिक्षण तथा विभिन्न सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याउने दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। कलेजको वार्षिक ग्राजुएसन फेसन शो पनि विद्यार्थीहरूको शैक्षिक उपलब्धि प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई नवीन डिजाइन, प्रयोगात्मक सोच, उद्योग–सम्बन्ध र व्यावसायिक प्रस्तुतीकरणको महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ।

यस वर्ष छनोट भएका ३१ मोडलले पनि विद्यार्थी डिजाइनरहरूको परिकल्पनालाई जीवन्त बनाउँदै रचनात्मक पहिरन, नवीन सिल्हुट र अवधारणात्मक प्रस्तुतिलाई र्‍याम्पमा अभिव्यक्त गर्नेछन्। डिजाइन र मोडलिङबीचको यही सहकार्यले कलेक्सनको दृश्य प्रभाव, भावनात्मक प्रभाव र समग्र प्रस्तुतीकरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। आयोजनाको तयारी तीव्र बन्दै जाँदा ‘अनन्तरूपवितानम्’ नेपाली फेसनको मौलिकता, सांस्कृतिक सम्पदा, आधुनिक सौन्दर्यबोध, शिल्पकौशल र समकालीन डिजाइनलाई एउटै मञ्चमा समेट्ने अपेक्षासहित अघि बढिरहेको छ। १० अक्टोबर २०२६ मा द प्लाजामा प्रस्तुत हुने यो ग्राजुएसन फेसन शोले नयाँ पुस्ताका डिजाइनर र मोडलको प्रतिभालाई उजागर गर्दै नेपाली फेसनको भविष्यलाई अझ सिर्जनात्मक, व्यावसायिक र अन्तर्राष्ट्रिय दृष्टिकोणतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय