Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिताको ११औँ संस्करणमा समिक्षा शर्माले ‘मिस ब्युटिफुल नेपाल’ तथा रीता तामाङले मिसेस ब्युटिफुल नेपालको उपाधि जित्न सफल भएका छन् । पेशाले सौन्दर्यकर्मी रहेकी रिता तामाङले मुख्य उपाधिसहित बेस्ट वाक, मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्टेड विधामा पनि उत्कृष्टता हासिल गरिन् । मिस ब्युटीफुल नेपाल विजेता बनेकी समिक्षा मस्ट पपुलर, वेष्ट वाक, मस्ट फोटोजेनिक र मस्ट पंचुयल विधामा पनि विजयी बनेकी थिइन् ।

प्रतियोगितामा मिसेस्तर्फ मन्दिरा आचार्य फस्र्ट रनर–अप, गीता बुढाथोकी सेकेन्ड रनर–अप, सृजना घिमिरे थर्ड रनर–अप तथा रीता कटुवाल फोर्थ रनर–अप घोषित भएका थिए । अन्य मुख्य विधामा सृजना घिमिरेले भ्युअर्स च्वाइस, रेखा श्रेष्ठ अर्गनाइजर च्वाइस तथा सुनिता श्रेष्ठ आचार्य मस्ट पपुलरका रुपमा छनौट भएका थिए । मिसतर्फ भने तारा कुमारी दुलाल फस्र्ट रनर–अप, निशा राजवाहक सेकेन्ड रनर–अप तथा संजिना चौधरी थर्ड रनर–अप चयन गरिएका थिए ।

दक्ष इन्टरनेशनलका अध्यक्ष वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेको आयोजनामा सम्पन्न प्रतियोगिताको व्यवस्थापन गीता उप्रेतीले सम्हालेकी थिइन् भने राहुल बन्जाडेको निर्देशन रहेको थियो । प्रतियोगिताको कोरियोग्राफी आश्विनी कान्त झाले गरेका थिए । संघीय संसद्, राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित रहेको सो कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठको विशिष्ट अतिथिका रूपमा उपस्थिति थियो । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री तृप्ति नाडकर मुख्य निर्णायकका रूपमा रहेकी थिइन् । निर्णायक मण्डलमा वरिष्ठ गायक आनन्द कार्की, पत्रकार सन्दीप पौडेल, ‘मिसेस ब्युटिफुल नेपाल २०२४’ विजेता बिजया अधिकारी, डा. सूचना मराहट्टा, फेसन डिजाइनर डिना गुरुङ तथा ‘मिसेस गुरुङ २०२२’ विजेता नीलम गुरुङ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय