पोखरा, भदौ १०, पोखराको सुन तथा गरगना व्यवसायमा सक्रिय युवा व्यवसायी प्रदीप कोइरालाले व्यवसायसँगै रोजगारी सिर्जना र सामाजिक सेवाका क्षेत्रमा समेत योगदान पु¥याउँदै आएका छन् । पोखरा वाराही ज्वयलर्समार्फत २०१३ देखि सुन व्यवसायमा स्थापित हुँदै आएका कोइरालाको व्यावसायिक यात्रा अहिले व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वसँग जोडिएको छ ।
सुन तथा गरगहना व्यवसाय विश्वास, गुणस्तर र पारदर्शितामा आधारित हुने भएकाले यस क्षेत्रमा व्यवसायिक प्रतिष्ठा निर्माण गर्न लामो समय लाग्ने गर्दछ । यही चुनौतीपूर्ण क्षेत्रमा निरन्तर सक्रिय रहँदै कोइरालाले ग्राहकको विश्वासलाई आफ्नो व्यवसायको मुख्य आधार बनाउँदै आएको बताउनुभएको छ ।
पोखरामा सञ्चालनमा रहेको वाराही ज्वयलर्समार्फत उहाँले स्थानीय बजारको आवश्यकता र ग्राहकको बदलिँदो रुचिअनुसार सेवा विस्तार गर्दै आउनुभएको छ । परम्परागत गरगनासँगै नयाँ पुस्ताको रोजाइ र आधुनिक डिजाइनलाई ध्यान दिँदै व्यवसायलाई समयअनुकूल बनाउने प्रयास उहाँको व्यवसायिक यात्राको एउटा महत्वपूर्ण पक्ष हो ।

व्यवसायबाट आर्थिक गतिविधि मात्र नभई रोजगारीको अवसर सिर्जना गर्न सकिने मान्यताका साथ कोइरालाले आफ्नो व्यवसायमार्फत दुई दर्जनभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आउनुभएको छ । स्थानीय स्तरमा सिर्जना हुने यस्ता रोजगारीले परिवारको आयआर्जनसँगै स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउने गर्दछ ।
कोइरालाको व्यवसायिक यात्राको अर्को महत्वपूर्ण पाटो स्वास्थ्य सेवासँग सम्बन्धित छ । उहाँले २०६६ सालमा स्थापना भएको फेवा डेन्टल क्लिनिकमार्फत दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आइ रहनु भएको छ । उक्त क्लिनिकमार्फत आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको सहज पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी निःशुल्क दन्त उपचार तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत उहाँले सहयोग गर्दै आउनुभएको छ ।
शिक्षा र सामाजिक सहयोगका क्षेत्रमा पनि उहाँको संलग्नता रहेको छ । मुगु जिल्लाको रारामा रहेको महादेव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक वर्ष शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आइरहनु भएको छ भने ,उक्त जिल्लका विपन्न परिवारलाई लत्ताकपडा तथा खाद्यानन सहयोग गर्दै आइ रहननु भएको छ भने पोखरा उपत्यकामानै उहाँले सार्वजनिक स्थानमा विगत ३ वर्षदेखि निःशुल्क खानेपानीको व्यवस्था जस्ता गतिविधिमा उहाँले योगदान पु¥याउनुभएको छ ।

व्यवसायीका लागि सामाजिक उत्तरदायित्व केवल सहयोगमा सीमित नभई समुदायसँगको सम्बन्ध र स्थानीय आवश्यकतालाई बुझेर काम गर्ने विषय भएको कोइरालाको बुझाइ छ । व्यवसाय सञ्चालन गर्ने समुदायप्रति व्यवसायीको पनि केही जिम्मेवारी रहने भएकाले आफ्नो क्षमताअनुसार सामाजिक क्षेत्रमा योगदान गर्दै आएको उहाँ बताउनुहुन्छ ।
पोखरा पर्यटकीय तथा व्यावसायिक गतिविधिका दृष्टिले महत्वपूर्ण शहर हो । पर्यटनसँग जोडिएको सेवा, व्यापार तथा स्थानीय बजारको विस्तारसँगै यहाँ सुन तथा गरगना व्यवसायले पनि आफ्नो छुट्टै बजार निर्माण गरेको छ । यस्तो प्रतिस्पर्धात्मक क्षेत्रमा लामो समय निरन्तर व्यवसाय सञ्चालन गर्नु आफैँमा एउटा चुनौतीका रूपमा लिइन्छ ।

बजारमा आउने परिवर्तन, ग्राहकको प्राथमिकतामा हुने बदलाव र आर्थिक उतारचढावका बीच व्यवसायलाई निरन्तरता दिन व्यवसायीले नयाँ सोच र व्यवस्थापन क्षमता विकास गर्नुपर्ने हुन्छ । कोइरालाको व्यवसायिक यात्रामा पनि यही अनुकूलनको प्रयास देखिन्छ ।
व्यवसाय विस्तारसँगै सामाजिक सेवामा जोडिएको उनको गतिविधिले निजी क्षेत्रको सामाजिक भूमिकाबारे पनि एउटा उदाहरण प्रस्तुत गरेको छ । रोजगारी सिर्जना, सेवा विस्तार र समुदायका आवश्यकतामा सहयोग पु¥याउने कार्यले व्यवसायलाई स्थानीय समाजसँग जोड्ने आधार तयार गरेको देखिन्छ । व्यवसायिक क्षेत्रमा निरन्तरता कायम राख्दै सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो यात्राको हिस्सा बनाएका कोइरालाको अनुभवले उद्यमशीलता र सामाजिक सेवाबीचको सम्बन्धलाई थप उजागर गरेको छ ।


