काठमाडौं — रसुवा, नुवाकोटको सिमानामा पर्ने भोटोकोसीमा आज आएको आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तान दूतावासले गहिरो दुःख व्यक्त गरेको छ।
पाकिस्तान दूतावास काठमाडौंले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै बाढीका कारण बहुमूल्य जीवन गुमाउनुका साथै सम्पत्ति तथा पूर्वाधारमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको हो।
दूतावासले बाढीमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै प्रभावित, बेपत्ता तथा शोकमा रहेका सबैप्रति सहानुभूति व्यक्त गरेको छ। साथै, प्रभावित सबैको सुरक्षा तथा सकुशल उद्धारका लागि प्रार्थना गरेको जनाएको छ।
पाकिस्तान दूतावासले यस कठिन घडीमा नेपाली जनतासँग आफूहरू ऐक्यबद्ध रहेको समेत जनाएको छ।
दूतावासले आफ्नो आधिकारिक सन्देशमार्फत नेपाल सरकार तथा नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै बाढी प्रभावित सबैप्रति सहयोग र सहानुभूतिको भावना व्यक्त गरेको हो।


