सुभाष कायस्थ
जनकपुरधाम, रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका करीब एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहिन रहेका छ्न । सम्पर्कविहिन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनीयर हुन् । प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्तरी बोदेबरसाइन नगरपालिका काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव सम्पर्कविहीन रहेका छन् ।
यस्तै मधेश प्रदेश निवासी सन्तोष कुमार ठाकुर, राहुल गुप्ता, राजा यादव र सुरज मण्डल सम्पर्कविहिन रहेका छ्न । समाचार लेख्दासम्म यिनीहरुको ठेगान नखुलेपनि तिनीहरु मधेश प्रदेशकै रहेको जनाइएको छ । बाढी आएको समयदेखि उनीहरु सम्पर्कविहिन हुन् । सामाजिक सञ्जालमा तिनका आफन्त र परिवारजनहरुले उद्धारको गुहार गर्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । बाराका रमेश यादव रसुवामा सञ्चालित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट क्षमताको आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिएका छन् ।
यस्तै महोत्तरीको पिपराका विकास यादव पनि रसुवास्थित एक हाइड्रोपावरमै कार्यरत छन् । जनकपुरधामका अजयप्रसाद सिंह २१६ मेगावाटको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत छन भने सन्तोष कुमार ठाकुर, राहुल गुप्ता पनि अपर त्रिशुली जलविद्युत आयोजनामै इन्जिनीयरको रुपमा कार्यरत जनाइएको छ ।
बाढीमा सम्पर्कविहिन भएका सप्तरीको बोदेबरसाइन तीनै एक परिवारका दाजुभाई हुन् । सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत रहेको परिवारले जनाएको छ । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन । बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेको भन्दै यादवले सम्बन्धित निकायसँग तत्काल खोज तथा उद्धार गरिदिन आग्रह गरेका छन् ।यस्तै जनकपुरधामका सिंहका श्रीमति पुजा साहले पनि बाढी आएको समयदेखि श्रीमानसँग सम्पर्क हुन नसकेको भनी आफ्नो श्रीमानको खोजी तथा उद्धार गरिदिन आग्रह गरेकी छिन् ।


