Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

ल्हासा (तिब्बत) , चीन नेपाल सीमा क्षेत्रमा विपद्का कारण दुवैतर्फ मानवीय क्षति भएपछि चिनियाँ अधिकारीहरूले व्यापक उद्धार कार्य सुरु गरेका छन्। त्यसका लागि चीनले आपतकालीन उद्धार तथा विपद् राहत कार्य सञ्चालनमा सहयोग पुर्‍याउन केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट १२ करोड युआन र पुनर्लाभ र पुनर्निर्माण प्रयासहरूमा सहयोग गर्न केन्द्रीय बजेटबाट १० करोड युआन गरी २२ करोड युआन छुटयाएको छ।

जसअनुसार नेपाली रूपैयाँ ५ अर्ब रूपैया निकास गरी चीनले राहात र पुनर्निमाणका लागि काम सुरू गरिसकेको छ। सिगात्से सहरस्थित अग्रपंक्तिको कमान्ड मुख्यालयका अनुसार, २६ अगस्टको बिहान ८ बजेसम्म चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गतको गिरोङ काउन्टीमा गएको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्। उता, नेपाल प्रहरी र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त पछिल्लो जानकारी अनुसार उत्तरी नेपालमा आएको भीषण आकस्मिक बाढीका कारण १६५ जनाको मृत्यु भएको छ। साथै, ३९१ विदेशी नागरिकसहित ६४४ जना पर्यटकहरू बेपत्ता भएका छन्।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले भू गर्भसम्बन्धी विपद्का लागि ‘ स्तर २’को आपतकालीन प्रतिकार्य योजना सक्रिय पारेको छ। यो चीनको चार स्तरीय आपतकालीन प्रतिकार्य प्रणालीमा दोस्रो उच्च तहको व्यवस्था हो। साथै, मन्त्रालयले उद्धार कार्यको निर्देशन दिन र थप विपद् रोक्नका लागि एक कार्यदल पनि खटाएको छ। विपद् रोकथाम, न्यूनीकरण तथा राहतसम्बन्धी राष्ट्रिय आयोगले आपतकालीन व्यवस्थापन मन्त्रालयसँग मिलेर विपद् राहतका लागि ‘स्तर २’ को आपतकालीन प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ।

आपतकालीन व्यवस्थापन मन्त्रालयले राष्ट्रिय एकीकृत अग्नि तथा उद्धार बलका २४९ जना र चाइना अनेङ, पावर चाइना तथा अन्य संस्थाहरूका ३२५ जना इन्जिनियरिङ उद्धारकर्मीहरूलाई परिचालन गरेको छ। यसका अतिरिक्त, बेइजिङ र दक्षिण पश्चिमी चीनको सिचुआन प्रान्तबाट १११ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मीहरूलाई तिब्बतको सिजाङ पठाइएको छ। अत्याधुनिक उपकरणसहितको आपतकालीन उद्धार चार्टर विमान पनि सिगात्सेका लागि प्रस्थान गरेको छ। विपद् रोकथाम, न्यूनीकरण तथा राहतसम्बन्धी राष्ट्रिय आयोग र आपतकालीन व्यवस्थापन मन्त्रालयले मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने, पुनर्स्थापना गर्ने र राहत कार्यमा सहयोग पुर्‍याउन ३० हजार थान केन्द्रीय राहत सामग्री जस्तैः पाल, चुलो, लत्ताकपडा, डस्नारसिरक, फोल्डिङ बेड र ओसिलोपन रोक्ने म्याट उपलब्ध गराएका छन्।

अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले तिब्बतमा आपतकालीन उद्धार तथा विपद् राहत कार्य सञ्चालनमा सहयोग पुर्‍याउन केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट १२ करोड युआन अर्थात करिब १ करोड ७७ लाख अमेरिकी डलर विनियोजन गरेका छन्। यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले गिरोङ काउन्टीमा विपद्पछिको आपतकालीन पुनर्लाभ र पुनर्निर्माण प्रयासहरूमा सहयोग गर्न केन्द्रीय बजेटबाट १० करोड युआन छुट्याएको छ। दुवै गरी चीनले २२ करोड युआन रकम छुटाएर उद्दार र पुनर्निर्माणमा लागेको छ। विपद्का कारण चिनियाँतर्फको गिरोङ सीमा नाका जोड्ने सडकहरू अवरुद्ध भएका छन् भने सञ्चार र विद्युत आपूर्तिमा पनि अवरोध पुगेको छ। ‘स्टेट ग्रिड सिजाङ इलेक्ट्रिक पावर’ का ८५ जना मर्मत सम्भार प्राविधिकहरू गिरोङ सहरमा पुगिसकेका छन्।

चाइना मिडिया ग्रुपका अनुसार नेपालमा व्यापक बाढीले सडक, पुल र जलविद्युत संरचनाहरूमा क्षति पुर्‍याएको छ, जसका कारण विद्युत सेवा अवरुद्ध भएको छ र भोटेकोसी नदी किनारका बासिन्दाहरूलाई आपतकालीन रूपमा सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय