काठमाडौं , चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि सुरक्षित आवास, पुनर्स्थापना र दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका कार्यक्रम अघि बढाइने जनाएका हुन्।
कार्यक्रमअन्तर्गत तत्काल खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइनेछ। राहत सामग्री वितरण भदौ ११ गतेदेखि सुरु भइसकेको फाउन्डेसन र बैंकले जनाएको छ।
राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने ती शिविरमा प्रभावित परिवारलाई दैनिक भोजनसहित आवश्यक आधारभूत सुविधा उपलब्ध गराइनेछ।
त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। स्वास्थ्य शिविरमार्फत प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामसम्बन्धी सेवा उपलब्ध गराउनुका साथै बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइका आवश्यक सुविधा उपलब्ध गराउने योजना छ।
५०० अस्थायी आवास निर्माण
बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ।
सरकार तथा स्थानीय सरकारसँगको सहकार्यमा निर्माण गरिने यी आवास स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बसोबास उपलब्ध गराउने उद्देश्यले तयार गरिनेछन्।
अस्थायी आवास निर्माणमा नेपालमा भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधि प्रयोग गरिने जनाइएको छ।
अस्थायी आवाससँगै प्रभावित समुदायमा स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने फाउन्डेसन र बैंकको योजना छ।
संक्रामक रोग नियन्त्रण केन्द्र स्थापना
राहत तथा पुनर्निर्माणलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नराखी दीर्घकालीन जनस्वास्थ्य तयारीलाई समेत कार्यक्रमको हिस्सा बनाइएको छ।
यसअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने भएको छ। केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी लगायतका विपद्पछि फैलिन सक्ने संक्रामक रोगको प्रभावकारी व्यवस्थापनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू राहत वितरण तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि स्थानीयस्तरमै परिचालित भइसकेका छन्।
सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता
फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग निकट समन्वयमा राहत तथा पुनर्स्थापनाको काम अघि बढाउने बताएका छन्।
सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत र सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्याउने उद्देश्य रहेको उनीहरूको भनाइ छ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले आपत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना सुनिश्चित गर्नु आवश्यक रहेको बताए।
उनले भने, “हाम्रो तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु हो। तर हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन।”
उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको यात्रामा चौधरी फाउन्डेसन र नबिल बैंक प्रतिबद्ध रहेको उनले बताए।
बाढी प्रभावितको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले देखाएको सक्रियता र समन्वयप्रति फाउन्डेसन र बैंकले आभारसमेत व्यक्त गरेका छन्।
चौधरी ग्रुपले प्रभावित नागरिकको जीवनरक्षा, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै घोषित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।


