Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणका लागि सरकारले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेको दाबी गरेका छन्। उद्धार तथा राहतका क्रममा केही कमजोरी भएको हुन सक्ने स्वीकार गर्दै उनले त्यसका लागि जनतासँग माफीसमेत मागेका छन्।

मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले कल्पना नै नगरेको स्तरको क्षति भएकाले उद्धारमा चुनौती थपिएको बताए। सुरुङभित्र रहेका व्यक्तिहरूको सकुशल उद्धारका लागि हरसम्भव प्रयास भइरहेको उनको भनाइ छ।

सुरुङभित्र हावा र आवश्यक सामग्री पुर्‍याउन नयाँ विकल्पबारे समेत प्रयास भइरहेको जानकारी दिँदै उनले पावरहाउसको माथिल्लो भागबाट खनेर सुरुङसम्म पुग्ने सम्भावनाबारे अध्ययन भइरहेको बताए।
बाढीपछि पहिलोपटक पत्रकार सम्मेलनमा सार्वजनिक रूपमा प्रस्तुत भएका मन्त्री गुरुङले आफू बाढी आएको भोलिपल्टदेखि नै फिल्डमा खटिएको र नुवाकोटमा बसेर उद्धार तथा राहत कार्यको समन्वय गरेको बताए। विदेशी विज्ञ टोलीलाई उद्धारमा सहभागी हुन सरकारले कहिल्यै नरोकेको भन्दै उनले दलदल र सुरुङ टालिएका कारण उनीहरूलाई समेत काम गर्न कठिन भइरहेको स्पष्ट पारे।

निजी क्षेत्रका हेलिकोप्टर उडानमा रोक लगाइएको विषयमा दुर्घटनाको जोखिमलाई ध्यानमा राखिएको उनको स्पष्टीकरण छ। सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीहरूले अधिकतम प्रयास गरिरहेको बताउँदै उनले नेपालको इतिहासमै विपद् उद्धारका क्रममा यति धेरै हेलिकोप्टर प्रयोग भएको दाबी गरे।

राहत सामग्री सबै प्रभावित क्षेत्रमा पुर्‍याउने प्रयास भइरहेको उल्लेख गर्दै मन्त्री गुरुङले राज्यको संयन्त्र पुग्न नसकेको वा कुनै कमजोरी भएको स्थानबारे सरकारलाई जानकारी गराउन आग्रह गरे। डाँडाकाँडामा अलपत्र परेका नागरिकको अवस्थाबारे हेलिकोप्टरमार्फत रेकी भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय