काठमाडौं, चीनको सिजाङ (तिब्बत) स्थित गिरोङ बन्दरगाहमा गत अगस्ट २६ मा गएको भीषण पहिरोमा परी ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना बेपत्ता भएका छन्। चीनको राष्ट्रिय टेलिभिजन सीसीटीभीका अनुसार आइतबार आयोजित पत्रकार सम्मेलनमा आपतकालीन उद्धार कमाण्ड सेन्टरले उक्त जानकारी दिएको हो।विपद प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि सेप्टेम्बर ५ र ६ मा अमेरिका, बेलायत, रुस, भारत, पाकिस्तान, सिङ्गापुर, ब्राजिललगायत विभिन्न देशका पत्रकारहरूलाई गिरोङ पुर्याइएको थियो। उनीहरूले आइतबार सिजाङमा आयोजित ब्रिफिङमा समेत सहभागिता जनाएका थिए।
अधिकारीहरूका अनुसार विपद् प्रभावित क्षेत्र अग्ला हिमाल, गहिरो उपत्यका, तीव्र रूपमा परिवर्तन हुने मौसमका साथै धेरै हिमनदी र हिमतालहरूले भरिएकाले भू-गर्भीय जोखिम उच्च छ। पहिरोका कारण गिरोङ बन्दरगाह जोड्ने जी २१६ राजमार्गमा गम्भीर क्षति पुग्नुका साथै विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। बारम्बार खस्ने पहिरो, बाक्लो हिलोको थुप्रो, उच्च उचाइमा तापक्रमको उतारचढाव तथा खस्ने चट्टानका कारण उद्धार कार्य सामान्य भू-गर्भीय विपद्भन्दा निकै जटिल र चुनौतीपूर्ण बनेको छ।
सडक सञ्जाल पुनः सञ्चालनमा आउनुअघि स्थल, जल र हवाई तीनवटै मार्गबाट उद्धार कार्य सञ्चालन गरिएको थियो। उद्धार टोलीले जलमार्गबाट मुख्य क्षेत्रसम्म पुग्न ‘असाल्ट बोट’ र रबरका डुङ्गाहरू प्रयोग गरेका थिए भने २४ पटक हेलिकप्टर उडानमार्फत उद्धारकर्मी, राहत सामग्री र उपकरणहरू पुर्याइएको थियो। स्थल मार्गका टोलीले पहाडी बाटो हुँदै १२ घण्टाको घुमाउरो यात्रा गरेर मुख्य क्षेत्र पुगेका थिए। सेप्टेम्बर ५ को साँझसम्म २५ सयभन्दा बढी उद्धारकर्मी, ५०० भन्दा बढी सवारी साधन र ९ हजारभन्दा बढी उद्धार उपकरणहरू परिचालन गरिसकिएको छ। यस्तै, ड्रोनहरूले १ हजारभन्दा बढी उडान भर्दै ५.४३ टन राहत सामग्री हवाई मार्गबाट खसालेका थिए।
सेप्टेम्बर २ को बिहान सडक पुनः सञ्चालनमा आएपछि ६ वटा विशेष समूह र ७ वटा उद्धार टोलीहरू गठन गरी ६ चरणमा सघन खोज कार्य अगाडि बढाइएको छ। सेप्टेम्बर ५ को साँझसम्म दुई जनाको जीवितै उद्धार गरिएको छ भने ९९३ वटा व्यक्तिगत सामानहरू फेला पारिएका छन्। विपद्मा परेका र बेपत्ता भएका व्यक्तिका परिवारलाई सहयोग गर्न चिनियाँ अधिकारीहरूले विशेष हटलाइन सेवा सञ्चालनमा ल्याएका छन्। सेप्टेम्बर ५ सम्म उक्त हटलाइनमा ६७५ वटा फोन आएका छन् भने ७९१ जना परिवारका सदस्यहरूलाई प्रत्यक्ष भेटेर ६४० जनालाई बसोबासको व्यवस्था मिलाइएको छ। सारे टाउनशिपका चार गाउँका ४९९ बासिन्दालाई सुरक्षित स्थानमा सारेर उनीहरूलाई स्वास्थ्य, शिक्षा, आधारभूत जीवनयापन तथा मनोवैज्ञानिक परामर्श उपलब्ध गराइएको छ।
पहिरिपछि बनेको बाँध र पहिरो प्रभावित क्षेत्र वरपर हुन सक्ने सम्भावित दोस्रो चरणको जोखिम, लेदो र पहिरोको निगरानी गर्न १०० भन्दा बढी विज्ञ तथा प्राविधिक परिचालन गरिएको छ। त्यसैगरी, १५० भन्दा बढी विशेष उपकरण र १०५ सेट बहु-पक्षीय निगरानी यन्त्रहरू (स्लोप राडार, एकीकृत राडार, भिडियो निगरानी प्रणाली, ड्रोन र मौसम मापन यन्त्र) प्रयोग गरी चौबीसै घण्टा निगरानी भइरहेको छ।पटक-पटकको पुष्टि प्रक्रियापछि २३ देशका २६१ जना विदेशी नागरिकहरू अझै बेपत्ता रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। सम्बन्धित जानकारी कूटनीतिक माध्यमबाट चीनस्थित ती देशका दूतावासहरूमा पठाइएको छ भने बेपत्ता विदेशीका परिवारका लागि सञ्चालित २४ घण्टे हटलाइनमा ५०९ वटा फोन कलहरू प्राप्त भएका छन्।
चीनले ‘चीन-नेपाल विपद् रोकथाम सूचना आदान-प्रदान संयन्त्र’ मार्फत नेपाललाई दैनिक रूपमा मौसम, जलविज्ञान, हिमनदी ताल र हिमनदीसम्बन्धी जानकारी उपलब्ध गराइरहेको छ।साथै, नेपालको अनुरोधमा चिनियाँ सरकारले सुरुङभित्रको उद्धार र डीएनए परीक्षणसम्बन्धी विज्ञहरू तथा आपतकालीन राहत सामग्री पठाएको छ। सिजाङ क्षेत्रीय सरकारले नेपाललाई ३२० टन ‘बेली ब्रिज’का पाटपुर्जा र अन्य राहत सामग्रीसमेत उपलब्ध गराएको छ।



