काठमाडौं, पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा धेरै भारी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार कञ्चनपुरको भम्कास्थित हनुमाननगर स्टेसनमा सबैभन्दा बढी १४१.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, डडेल्धुराको गाईबान्ने स्टेसनमा १२७.८ मिलिमिटर वर्षा भएको छ।
तराईको सिरहामा पनि ९० मिलिमिटर भारी वर्षा मापन गरिएको छ। मौसम विज्ञान अनुसार २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई ‘भारी’, १०० देखि २०० मिलिमिटरसम्म हुनुलाई ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई ‘अति भारी’ वर्षा मानिन्छ। भारी वर्षा भएका क्षेत्रका साना-ठूला नदी तथा खोलामा बाढीको जोखिम रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन्।
यसैबिच, आइतबार राति काठमाडौं उपत्यकालगायतका क्षेत्रमा पनि वर्षा भएको थियो। वर्षाका कारण राति हनुमन्ते र बागमती लगायतका खोलामा बाढी आएको थियो। हनुमन्ते खोलाको बाढीले राति खतराको तह पार गरे पनि अहिले भने बहाव घट्दै गएको छ।



