नुवाकोट, बिदुर नगरपालिकास्थित शेर गण, मान्द्रेढुङ्गाका स्थानीय बासिन्दा तथा रेन्बो भोलेन्टियर क्लबको संयुक्त आयोजनामा बाढी प्रभावित श्री क्षेत्रपाल आधारभूत विद्यालयमा बिहीबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
गत भदौ १० गते आएको बाढीका कारण विद्यालय परिसरमा लेदो, माटो तथा फोहोर थुप्रिएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको थियो। त्यसलाई मध्यनजर गर्दै रेन्बो भोलेन्टियर क्लबको सक्रियतामा नेपाली सेना, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूले संयुक्त रूपमा विद्यालय परिसरको सरसफाइ गरेका हुन्।
सरसफाइपछि बालबालिकाले सुरक्षित र सहज वातावरणमा पुनः अध्ययन गर्न सक्ने वातावरण निर्माणमा सहयोग पुगेको रेन्बो भोलेन्टियर क्लबका मदन पौडेलले बताएका छन्।
बाढीपछि गरिएको यो अभियान सरसफाइमा मात्र सीमित नभई विपद्का कारण प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन र उनीहरूको सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने सामूहिक प्रयासका रूपमा लिइएको छ।

विपद्को कठिन परिस्थितिमा समुदाय, स्थानीय सरकार, नेपाली सेना तथा स्वयंसेवकहरूको एकताबद्ध प्रयासले प्रभावित क्षेत्रमा आशा र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

अभियानमा सहभागी स्थानीय बासिन्दा, नेपाली सेना, स्वयंसेवक तथा सहयोगी सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।



