Friday 11 September 2026 / शुक्रबार, २६ भाद्र २०८३

काठमाडौँ, भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

बैंकका सञ्चालक तथा कर्मचारीका तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ ।

यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो ।

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको जनाएको छ ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । बैंकले सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि गरिने प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय