Sunday 13 September 2026 / आईतवार, २८ भाद्र २०८३

काठमाडौँ, मानिसहरू आफ्नो घर, कार्यालय र गाडीमा सुगन्धित वातावरण कायम राख्न ‘रुम फ्रेस्नर’ (कोठा सुगन्धित बनाउने साधन) को प्रयोग गर्छन्। यिनको कडा सुगन्धले केही समयका लागि दुर्गन्धलाई छोपे पनि यसमा पाइने केही रसायनहरूले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छन्।

विशेष गरी बन्द कोठा वा साँघुरो ठाउँमा यसको अत्यधिक प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्या र एलर्जी बढाउन सक्ने भएकाले प्रयोग गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ।

रुम फ्रेस्नरमा के हुन्छ?

कोठा ताजा बनाउने स्प्रेमा सुगन्ध प्रदान गर्न विभिन्न रसायनहरूको प्रयोग गरिन्छ। जस्तै, हावामा सजिलै फैलिने ‘भोलाटाइल अर्गानिक कम्पाउन्ड’ र ‘डाइक्लोरोबेन्जिन’ जस्ता रसायनहरू। जब यसलाई छर्किइन्छ, यो हावामा साना कणका रूपमा फैलिन्छ र केही समयसम्म रहिरहन्छ। श्वास फेर्दा यी कणहरू हाम्रो शरीरभित्र प्रवेश गर्छन्।

यिनको प्रभाव व्यक्तिपिच्छे फरक हुन्छ। उच्च मात्रामा यसको सम्पर्कमा आउँदा आँखा, नाक र घाँटीमा जलन हुन सक्छ। साथै टाउको दुख्ने, रिङ्गटा लाग्ने वा बेचैनी महसुस हुने जस्ता समस्या पनि देखिन सक्छन्। कडा सुगन्ध भएका स्प्रेहरू विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी बिरामीका लागि कष्टकर हुन्छन्।

श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम

रुम फ्रेस्नरको निरन्तर र अत्यधिक प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्याहरूलाई अझ बढाउन सक्छ। पहिले नै दम वा एलर्जीको समस्या भएका व्यक्तिहरूका लागि यसको कडा सुगन्धले खोकी लाग्ने, छाती भारी हुने तथा सास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउँछ।

स्प्रे छर्केलगत्तै लामो समयसम्म सोही बन्द कोठामा बस्नु उचित हुँदैन, किनकि त्यहाँ स्प्रेका कण लामो समयसम्म हावामा रहिरहन्छन्। त्यसैले रुम फ्रेस्नर प्रयोग गरिसकेपछि हावा आवतजावतका लागि झ्याल वा ढोका खोल्नुपर्छ।

प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू:

रुम फ्रेस्नरको अत्यधिक प्रयोग नगर्नुहोस्।

यसलाई सीधै अनुहार, आँखा वा छालामा स्प्रे नगर्नुहोस्।

भान्सा वा बालबालिकाको वरिपरि प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस्।

स्प्रे गरेपछि खोकी लाग्ने, आँखा जल्ने, टाउको दुख्ने वा सास फेर्न गाह्रो भएमा यसको प्रयोग तुरुन्त बन्द गर्नुहोस्।

प्राकृतिक रूपमा कोठा सफा राख्नु र उचित भेन्टिलेसन (हावाको आउजाउ) सुनिश्चित गर्नु नै घरमा ताजा वातावरण कायम राख्ने सबैभन्दा उत्तम तरिका हो।

रुम फ्रेस्नर प्रयोगपछि बारम्बार श्वासप्रश्वासमा समस्या आएमा चिकित्सकसँग परामर्श लिनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय