स्याङ्जा, स्याङ्जाको वालिङ–१३ तारुखोलाका किसान धान र मकै खेती छाडेर व्यावसायिक अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका छन्। बाँदरले क्षति नगर्ने र आम्दानी पनि राम्रो हुने भएपछि किसानहरू खुर्सानी खेतीतर्फ लागेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपिएका छन्। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्म सञ्चालक दयाराम पाठकले जानकारी दिए।
“गत फागुनमा लगाएको अकबरे खुर्सानीले उत्पादन दिन थालेको छ,” पाठकले भने, “उत्पादित खुर्सानीको बजारमा माग उच्च छ। मागअनुसार पुर्याउनै धौ–धौ परेको छ।” हाल फार्मबाट दुई–तीन दिनको अन्तरमा करिब ३०० किलो पाकेको खुर्सानी बिक्री हुने गरेको छ। उत्पादित खुर्सानी बुटवलस्थित तरकारी मण्डी, यशोदा फुड्स प्रालि तथा स्थानीय बजारमा प्रतिकिलो २२० रुपैयाँका दरले बिक्री भइरहेको छ। फार्मका अनुसार हालसम्म करिब ७ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री भइसकेको छ।
केदारनाथ कृषि फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ। फार्ममै उत्पादित वस्तु आफ्नै सवारीसाधनमार्फत बजारसम्म पुर्याउने व्यवस्था भएकाले बिक्रीमा सहज भएको सञ्चालक पाठकले बताए।
खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय किसानमा व्यावसायिक खेतीप्रति आकर्षण बढेको छ।



