काठमाडौं, पोखराका युवा व्यवसायी तथा पोखरा बाराही ज्वयलर्सका प्रबन्ध निर्देशक प्रदीप कोइरालालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘Jewelry Entrepreneurship Excellence Award’ प्रदान गरिएको छ।
सिजन मिडियाको आयोजनामा काठमाडौंमा सम्पन्न अवार्ड समारोहमा नेपालका प्रथम राष्ट्रपति तथा प्रमुख अतिथि डा. रामवरण यादवसहित विशिष्ट अतिथिहरूको उपस्थितिमा कोइरालालाई ट्रफी तथा सम्मानपत्र प्रदान गरिएको हो।

सुन तथा गरगना व्यवसायमा लामो समयदेखि सक्रिय कोइरालाले व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानसँगै रोजगारी सिर्जना, स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा गरेको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
कोइराला सन् २०१३ देखि पोखरा बाराही ज्वयलर्समार्फत सुन तथा गरगना व्यवसायमा सक्रिय रहँदै आएका छन्। ग्राहकको विश्वास, गुणस्तरीय सेवा, पारदर्शिता तथा आधुनिक डिजाइनलाई प्राथमिकतामा राख्दै उनले व्यवसायलाई समयअनुकूल रूपमा अघि बढाउँदै आएका छन्।
उनको व्यवसायमार्फत दुई दर्जनभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएका कोइरालाले फेवा डेन्टल क्लिनिकमार्फत दन्त स्वास्थ्य सेवा तथा आर्थिक रूपमा कमजोर समुदायका लागि निःशुल्क उपचार र स्वास्थ्य शिविरमा समेत सहयोग गर्दै आएका छन्।
त्यसैगरी मुगुको रारा क्षेत्रमा रहेको महादेव आधारभूत विद्यालयका विद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामग्री तथा आर्थिक सहयोग, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग र पोखरा उपत्यकाका सार्वजनिक स्थानमा विगत तीन वर्षदेखि निःशुल्क खानेपानीको व्यवस्था गर्दै आएको बताइएको छ।
व्यवसाय, रोजगारी सिर्जना र सामाजिक सेवाबीचको सन्तुलन कायम गर्दै अघि बढेका कोइरालाको उद्यमशील यात्रालाई सम्मान गर्दै ‘Jewelry Entrepreneurship Excellence Award’ प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्दै कोइरालाले प्राप्त सम्मानले आफूलाई व्यवसायसँगै सामाजिक क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न थप प्रेरणा मिलेको बताए। उनले ग्राहकको विश्वासलाई कायम राख्दै आगामी दिनमा व्यवसायको विकाससँगै समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सिजन मिडियाको आयोजनामा सम्पन्न ‘Asian Professional Achievement Award 2026’ को सातौँ संस्करणमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलताका क्षेत्रमा योगदान पुर्याएका नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।




