Tuesday 22 September 2026 / मंगलवार, ६ आश्विन २०८३

काठमाडौं, काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेको बसमा आगो लाग्दा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको उपचारका क्रममा निधन भएको छ। काभ्रे स्थायी घर भएका लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति निधन भएको प्रहरीले पुष्टि गरेको छ। अस्पतालका अनुसार आगलागीबाट चालक लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। सोमबार मध्याह्न करिब १ बजे उद्धार गरी उनलाई तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकस्थित बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। यात्रुहरू ओर्लिसकेपछि चालक लामा आफैँले बसभित्र पेट्रोल छर्की आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रारम्भिक जानकारी अनुसार आगो लगाउनुअघि चालक लामाको ड्यूटीमा रहेका ट्राफिक प्रहरीसँग विवाद भएको थियो।

घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी) ले छानबिन समिति गठन गरेको छ। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा गठित उक्त समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएको छ। छानबिन समितिले ट्राफिक प्रहरी र चालकबीच भएको विवादको कारण तथा आगलागीको मुख्य परिस्थितिबारे सूक्ष्म अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय