मेलबर्न, अस्ट्रेलिया, चुनौतीपूर्ण तथा वर्षायुक्त मौसमका बीच नेवा: गुठी भिक्टोरियाको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही मेलबर्न २०२६ शनिबार मेलबर्नस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC), डिगर्स रेस्टमा सम्पन्न भएको छ।

नेवा: समुदाय, नेपाली–अस्ट्रेलियाली समुदाय तथा नेपाली कला, संस्कृति र परम्पराप्रति आस्था राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागितामा जात्रा सम्पन्न भएको हो।

जात्राका क्रममा गणेश पूजा, नासाः द्यः पूजा, कुमारी पूजा, रथ पूजा, कुमारी रथारोहण, श्वेत भैरव पूजा तथा इन्द्र पूजालगायतका धार्मिक तथा सांस्कृतिक अनुष्ठान सम्पन्न गरिएको थियो।
कार्यक्रमको प्रमुख आकर्षण कुमारी रथको शोभायात्रा तथा रथ तान्ने कार्यक्रम रहेको थियो। सो अवसरमा लाखे, पुलुकिसी, झ्यालिन्चा, धिमे तथा बाँसुरीलगायतका परम्परागत सांस्कृतिक प्रस्तुति गरिएको थियो।

दिउँसो १२ बजेबाट सुरु भएको औपचारिक कार्यक्रममा परम्परागत पानस प्रज्वलन, सांस्कृतिक प्रस्तुति, स्वागत मन्तव्य तथा अतिथि सम्बोधन गरिएको थियो। कार्यक्रममा समुदायमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।
नेवा: गुठी भिक्टोरियाले यस वर्षको जात्रामार्फत विशेषगरी युवा तथा बालबालिकालाई नेवा: संस्कृति, परम्परा र सम्पदासँग जोड्ने उद्देश्य राखेको जनाएको छ। कार्यक्रमले हिन्दू तथा बौद्ध परम्पराको सहअस्तित्व र नेवा: समुदायको सांस्कृतिक विविधतालाई समेत प्रस्तुत गरेको थियो।

कुमारी रथ नेवार बौद्ध शाक्य परिवारबाट परम्परागत रूपमा चयन गरिने कुमारीसँग सम्बन्धित रहेको उल्लेख गर्दै आयोजकले इन्द्र जात्राले धार्मिक सहअस्तित्व, सांस्कृतिक विविधता र पारस्परिक सम्मानको सन्देश दिने जनाएको छ।
जात्रा सफल बनाउन निर्देशन समिति, विभिन्न कार्यदल, सांस्कृतिक टोली, स्वयंसेवक, प्रायोजक तथा समुदायका सदस्यहरूको सामूहिक योगदान रहेको नेवा: गुठी भिक्टोरियाले जनाएको छ।
गुठीका अध्यक्ष माया प्रसाद सुवालले इन्द्र जात्रा केवल पर्व नभई पहिचान, सम्पदा र समुदायको उत्सव भएको बताउनुभयो। चुनौतीपूर्ण मौसमका बाबजुद समुदायको उत्साहपूर्ण सहभागिताले संस्कृति संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने प्रतिबद्धता थप बलियो बनाएको उहाँको भनाइ छ।
गुठीले युवा पुस्तालाई नेपाल भ्रमण गरी काठमाडौंमा मनाइने परम्परागत इन्द्र जात्रा प्रत्यक्ष अनुभव गर्नसमेत आग्रह गरेको छ। काठमाडौंको येँया पुन्हीमा सहभागी हुँदा धार्मिक अनुष्ठान, रथ, संगीत, सांस्कृतिक प्रस्तुति तथा सामुदायिक सहभागिताबारे थप प्रत्यक्ष जानकारी लिन सकिने आयोजकको भनाइ छ।
नेवा: गुठी भिक्टोरियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, सामुदायिक संस्था, प्रायोजक, कलाकार, प्रस्तोता, स्वयंसेवक, परिवार, युवा तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।


