काठमाडौं, सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संघीय संसद्को प्रतिनिधिसभामा दर्ता गरेको छ ।मन्त्रिपरिषद् बैठकले गत मंगलबार विधेयक संसद्मा लैजान भूमि व्यवस्था, सहकारी, संघीय मन्त्रालयलाई अनुमति प्रदान गरेको थियो । मन्त्रालयका तर्फबाट संसद्मा लगिएको विधेयक बुधबार दर्ता भएको छ । विधेयक दर्ता भएसँगै अब संघीय निजामती ऐन बन्न बाटो खुला भएको छ । संसदमा छलफल भई पास भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने छ ।
संघीय निजामती विधेयकमा पुराना कर्मचारीलाई बिदा गर्दै नयाँ कर्मचारी भर्ना गर्ने बाटो खुलाइएको मात्र छैन, अब ३०–५५ वर्षको व्यवस्थाले पाँच हजारभन्दा बढी कर्मचारी घर फर्किने भएका छन् । संघीय मामिलामन्त्री प्रतिभा रावलले एक महिनादेखि विधेयकमा होमवर्क गरिरहेकी थिइन् ।
यसैबीच, बिहीबार राति १२ बजेदेखि संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यसअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
यसअनुसार सरकारबाट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो । चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।


