धुलिखेल, काभ्रेपलाञ्चोक, बागमती प्रदेशका राष्ट्रिय दिगो पर्यटन क्लब (NSTC) का विद्यार्थी तथा शिक्षकहरूको क्षमता अभिवृद्धि तथा स्थानीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दुईदिने NSTC Capacity Building & Destination Promotion Program – Bagmati Province होटल सारथी, धुलिखेलमा सम्पन्न भएको छ।
असोज १७ र १८ गते आयोजित कार्यक्रममा बागमती प्रदेशका ७ वटा NSTC क्लबका विद्यालय तथा कलेजका प्रधानाध्यापक/मेण्टर, क्लब संयोजक शिक्षक तथा विद्यार्थी क्याप्टेनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थी नेतृत्व, पर्यटन सीप, करियर अवसर, दिगो पर्यटन, वातावरण संरक्षण, स्थानीय गन्तव्य तथा समुदाय सहभागिताका विषयमा छलफल तथा व्यावहारिक गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रम Tourism Research & Training Institute (TRTI), नेपाल पर्यटन बोर्ड (NTB), UNDP Sustainable Tourism Project (STP) तथा Global Travel & Tourism Partnership (GTTP) को सहकार्यमा आयोजना गरिएको थियो। Institute of Aviation Skills (IATS), Tourism Development Institute (TDI) तथा Veda Technical Academy ले समेत कार्यक्रममा सहकार्य गरेका थिए।
कार्यक्रममा होटल सारथी Hospitality Partner का रूपमा रहेको थियो। होटलले सहभागीहरूको आवास, भोजन तथा सम्बन्धित hospitality services मा सहयोग गर्दै कार्यक्रमको दिगो पर्यटन पहललाई समर्थन गरेको थियो।
त्यसैगरी, होटल सारथीले आफ्नो ‘Experience Sarathi, Experience Dhulikhel’ मिशनअन्तर्गत सहभागीहरूका लागि देवीस्थान, १००० सिँढीलगायतका स्थानीय पर्यटकीय तथा धार्मिक स्थलहरूको guided tour आयोजना गरेको थियो। यसबाट विद्यार्थी तथा शिक्षकहरूले धुलिखेलको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा तथा स्थानीय पर्यटनको प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।
कार्यक्रममा सहभागी अतिथिहरूले धुलिखेललाई सुन्दर तथा सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा प्रशंसा गर्दै होटल सारथीको आतिथ्यता, सेवा तथा कार्यक्रम व्यवस्थापनको समेत खुलेर प्रशंसा गरेका थिए।
होटल सारथीका महाप्रबन्धक मिलन श्रेष्ठले विद्यार्थीहरूले विद्यार्थी जीवनदेखि नै पर्यटन तथा आतिथ्य उद्योगबारे व्यवहारिक ज्ञान र अनुभव हासिल गर्नुपर्ने बताउनुभयो। उहाँले यस्ता आवासीय तथा experiential कार्यक्रमले विद्यार्थीमा hospitality क्षेत्रप्रति प्रेरणा जागृत गर्नुका साथै पर्यटनलाई career का रूपमा रोज्ने आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमको बिहानको सत्रलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निरञ्जन जंगमले NSTC पहलको प्रशंसा गर्दै धुलिखेल नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा NSTC गठन तथा विस्तार गर्न TRTI सँग छिट्टै सहकार्य गर्ने बताउनुभयो। उहाँले ‘Clean and Green Dhulikhel’ अभियानलाई प्रभावकारी बनाउन NSTC क्लब तथा विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको क्रममा सहभागीहरूले आगामी कार्यदिशाका लागि ११ बुँदे ‘NSTC धुलिखेल घोषणापत्र २०२७’ समेत जारी गरेका छन्। घोषणापत्रले विद्यार्थी नेतृत्व, सीप तथा करियर विकास, सक्रिय क्लब, दिगो पर्यटन, वातावरण संरक्षण, स्थानीय गन्तव्य प्रवर्द्धन, अनुसन्धान, नवप्रवर्तन तथा समुदाय सहभागितालाई प्राथमिकता दिएको छ।

घोषणापत्रअनुसार NSTC क्लबहरूले २०२७ मा आफ्ना प्राथमिकतासँग मेल खाने गरी कम्तीमा ६ वटा प्रभावकारी तथा अनुकरणीय गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
बागमती प्रदेशमा रहेका करिब ५० NSTC क्लबहरूलाई साझा दिशामा अघि बढाउँदै विद्यार्थीलाई सिक्ने, नेतृत्व गर्ने, अनुभव हासिल गर्ने, संरक्षण गर्ने तथा पर्यटन प्रवर्द्धन गर्ने अवसर विस्तार गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले स्थानीय सरकार, पर्यटन उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यबाट युवा पुस्तालाई पर्यटनको भविष्यसँग जोड्न सकिने सम्भावनालाई समेत उजागर गरेको छ।


