Friday 9 October 2026 / शुक्रबार, २३ आश्विन २०८३

काठमाडौँ, एउटा नपढिएको इमेलका कारण संयुक्त राज्य अमेरिकामा राष्ट्रिय सुरक्षा सम्बन्धी ठूलो त्रास सिर्जना भएको छ । सबै तब सुरु भयो, जब युनाइटेड पार्सल सर्भिस का एक कर्मचारीले राडार-अवशोषक सामग्रीको लेप लगाइएको एफ ३५ ककपिट क्यानोपी र हतियार-बे को ढोका रहेको ढुवानीलाई हङकङ जान नदिन दिइएको चेतावनीतर्फ ध्यान दिएनन्। ब्लूमबर्गको रिपोर्ट अनुसार, यो सानो गल्तीले यस्तो प्रतिक्रियाको श्रृङ्खला सुरु गर्‍यो, जसका कारण चीनले अमेरिकाको सबैभन्दा उन्नत पाँचौँ पुस्ताको बहु-भूमिका स्टेल्थ लडाकु विमानको प्रविधि हात पार्न सफल भयो।

चेतावनी इमेल फ्रेट फर्वार्डर फर्म डिएसभी ए/एस ले पठाएको थियो। जसमा अमेरिकी अन्तर्राष्ट्रिय ट्राफिक इन आर्म्स रेगुलेसनको पालना गर्न एफ ३५ जेटका ती पार्टपूर्जाहरू निश्चित देशहरू भएर ट्रान्जिट (ओसारपसार) हुनु नहुने उल्लेख थियो। यो नियमको मुख्य उद्देश्य संवेदनशील अमेरिकी हतियार प्रविधि प्रतिद्वन्द्वी देशहरूको हातमा पर्न नदिनु हो। स्रोतलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाए अनुसार, युद्धविमानका ती भागहरू मूल रूपमा अमेरिकी रक्षा साझेदार राष्ट्रहरू, दक्षिण कोरिया र ताइवान हुँदै सान फ्रान्सिस्को पठाउने तय भएको थियो। यद्यपि, अस्ट्रेलियाबाट सामान पठाउन ढिलाइ भएपछि छिटो डेलिभरी गर्ने प्रयासमा यसलाई गल्तीवश हङकङको बाटो हुँदै पठाइयो।

एफ ३५ को विकासकर्ता कम्पनी ‘लकहिड मार्टिन कर्प’ को तर्फबाट काम गरिरहेको डिभिएसले पार्सललाई आइटीआर नियमबारे स्मरण गराउँदै इमेल पठाएको बताइएको छ। तर, ढुवानी सेवा प्रदायकको ध्यान त्यसतर्फ गएन। स्रोतका अनुसार डिभिएसले पठाएको इमेल पार्सल एजेन्टले प्रयोग गर्नेभन्दा फरक आइटी प्रणालीमार्फत आएकाले ध्यान नगएको हुन सक्छ।

यो नयाँ जानकारीले घटनाबारे थप विवरण स्पष्ट पारेको छ, जसले अहिले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ। गल्तीहरूको शृङ्खलाका कारण चीनले अनजानमै अमेरिकाको अति संवेदनशील सैन्य प्रविधिमा पहुँच पाएको हुन सक्ने सम्भावनाले गर्दा यो घटना निकै चर्चामा आएको हो।

मार्गसम्बन्धी गल्ती किन बन्यो सुरक्षा जोखिम?

लकहिड मार्टिनको एफ ३५ लाइटिङ दाेस्राे विश्वकै सबैभन्दा अत्याधुनिक लडाकु विमानहरूमध्ये एक हो र यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो हतियार कार्यक्रमको हिस्सा हो। बेइजिङले वर्षौँदेखि जासुसीमार्फत यो विमानको प्रविधि हात पार्ने प्रयास गरिरहेको छ। हङकङ पुगेका विमानका ती दुवै भागमा राडार-अवशोषक पदार्थको लेप लगाइएको थियो, जसले विमानको ‘स्टेल्थ’ (अदृश्य रहने) क्षमता बढाउँछ। यो यस विमानको डिजाइनको मुख्य विशेषता हो, जसले शत्रुको राडार प्रणालीमा नपरीकन आक्रमण वा सञ्चालन गर्ने क्षमता प्रदान गर्छ। घटनाबारे जानकार व्यक्तिहरूका अनुसार मे महिनाको अन्त्यतिर मर्मत वा विसर्जन का लागि ती भागहरू अमेरिका पठाइँदै थियो।

“चिनियाँहरूसँग अहिले एफ ३५ को क्यानोपी हुनु राम्रो संकेत होइन,” गैर-पक्षीय सरकारी जवाफदेहिता कार्यालय मा एफ ३५ समर्थन समीक्षाको निरीक्षण गर्ने डायना मौररले ब्लूमबर्गलाई बताइन्। उनले यो गल्तीलाई “गम्भीर विषय” भनेकी छन्। “मलाई पक्का छ, चिनियाँहरूले यसमा खुसी मनाए र त्यसपछि यसलाई रिभर्स-इन्जिनियरिङ गर्न तथा आफ्नो प्राविधिक क्षमताले यसको सामना कसरी गर्ने भन्ने पत्ता लगाउन व्यस्त भए,” उनले थपिन्।

अनुसन्धान सुरु

यो घटनापछि पेन्टागन र अमेरिकी विदेश मन्त्रालयले यो त्रुटिबारे अनुसन्धान सुरु गरेका छन्। यसले अमेरिकी सांसदहरूलाई समेत चिन्तित बनाएको छ। उनीहरूले भविष्यमा यस्तै गल्ती दोहोरिन नदिन अमेरिकी हतियारहरूको विश्वव्यापी आपूर्ति शृङ्खलाको समीक्षा गर्न माग गरेका छन्। अमेरिका र अन्य १९ राष्ट्रहरूले प्रयोग गर्ने यी विमानका लागि स्पेयर पार्ट्सको विश्वव्यापी व्यवस्थापन लकहिड मार्टिनले गर्छ। कम्पनीले गत महिना जारी गरेको विज्ञप्तिमा भनेको थियो, “हाम्रा लजिस्टिक सम्बन्धी निर्णयहरू एकतर्फी रूपमा लिइँदैनन्।” कम्पनीले सरकारी नियमहरूको पूर्ण पालना गर्ने ढुवानी साझेदार मात्र चयन गर्ने स्पष्ट पारेको छ।

“कुन लजिस्टिक साझेदार संलग्न थियो भन्ने विवरण हामी सार्वजनिक गर्न सक्दैनौँ। तर, अनुगमनलाई थप कडा बनाउन र यस्ता घटना दोहोरिन नदिन रोकथामका उपायहरू लागू गर्न हामी उनीहरूसँग नजिकबाट काम गरिरहेका छौँ,” लकहिडले भनेको छ। ढुवानी मोडिएको विषयमा सार्वजनिक नयाँ विवरणहरूबारे प्रतिक्रिया दिँदै लकहिडले ब्लूमबर्गसँग भन्यो, “तपाईँले उल्लेख गर्नुभएको घटनाक्रमको शृङ्खलाका सम्बन्धमा हामीले थप केही भन्नु वा सच्याउनु पर्ने छैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय