Friday 9 October 2026 / शुक्रबार, २३ आश्विन २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ।

सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछाने बाहेक टोलीका सबै खेलाडी सहभागी भएका छन्। सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजका लागि राष्ट्रिय टोलीसँग छन्। बसिर अहमद अक्टोबर ९ र लोकेश बम अक्टोबर ११ देखि टोलीको प्रशिक्षणमा सहभागी हुनेछन्।

पूर्वाञ्चल क्रिकेट एकेडेमीमा विराटनगर किंग्सले रणजी ट्रफीमा खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको छ। रणजीका अनुभवी खेलाडीहरूसँगको प्रतिस्पर्धाले विराटनगर किंग्सका खेलाडीलाई उच्चस्तरीय म्याच अभ्यासको अवसर पाइरहेका छन्।

टोलीको प्रशिक्षण विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुका सुलक्सानाले गरिरहेका छन्। प्रशिक्षक धम्मिका प्रसादले भारतमा भइरहेको प्रशिक्षण राम्रो ढंगले अघि बढिरहेको बताएका छन्। उनले खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेको र अभ्यास खेलमार्फत आफ्नो तयारीलाई थप मजबुत बनाइरहेको बताए।

“भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका छन् र अभ्यास खेलमार्फत आफूलाई एनपीएलका लागि तयार गरिरहेका छन्। यहाँको प्रशिक्षण र म्याच अभ्यासले खेलाडीहरूको तयारीमा निकै सहयोग पुगेको छ,” धम्मिका प्रसादले भने।

एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै टोलीले प्रशिक्षणसँगै म्याच अभ्यासलाई समेत प्राथमिकता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय