
नयाँदिल्लीमा ५ अक्टोबर २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालकी प्रतिनिधि राउतले फर्स्ट रनर-अपको उपाधिसँगै ‘मिस युनाइटेड नेसन्स वर्ल्ड’को ताज पहिरिइन्।
नेपालकी इस्नेहा राउतले भारतको नयाँदिल्लीस्थित होटल क्राउन प्लाजा, रोहिणीमा सम्पन्न प्रतिष्ठित मिस एन्ड मिसेस युनाइटेड नेसन्स २०२६ मा दोहोरो सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गरेकी छन्। मिस विधामा प्रतिस्पर्धा गरेकी राउतले फर्स्ट रनर-अपको उपाधि जित्नुका साथै ‘मिस युनाइटेड नेसन्स वर्ल्ड’ को ताजसमेत पहिरिएकी हुन्।

उनको यो उपलब्धिले आत्मविश्वास, सौन्दर्य, आकर्षक व्यक्तित्व, सशक्त मञ्चीय प्रस्तुति र निरन्तर समर्पणको प्रतिफललाई उजागर गरेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्राप्त यस सफलताले विश्व सौन्दर्य प्रतियोगिताको क्षेत्रमा नेपालको उपस्थिति र पहिचानलाई थप सुदृढ बनाएको छ।राउतले यसअघि काठमाडौंको बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित समारोहमा ‘मिस युनाइटेड नेसन्स नेपाल २०२६’ को राष्ट्रिय उपाधि जितेकी थिइन्। ग्रीन आर्ट्स मिडिया प्रालिद्वारा आयोजित उक्त प्रतियोगिताले उनलाई भारतको नयाँदिल्लीमा ५ अक्टोबर २०२६ मा सम्पन्न अन्तर्राष्ट्रिय फाइनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको थियो।

२४ वर्षीया राउत ललितपुरकी हुन्। उनले थाइल्यान्डबाट बिजनेस स्टडिजमा स्नातक तहको अध्ययन पूरा गरेकी छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारी गर्ने क्रममा उनले फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठको मार्गदर्शनमा विशेष प्रशिक्षण लिएकी थिइन्। उक्त प्रशिक्षणमा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मञ्चीय प्रस्तुति तथा प्रभावकारी प्रस्तुतिकरणका विविध पक्षमा केन्द्रित अभ्यास समावेश थिए। प्रतियोगिताको मिस विधामा रूसकी झान्ना निकोलाएभा विजेता बनिन् भने नेपालकी इस्नेहा राउतले फर्स्ट रनर-अप र मंगोलियाकी भिक्टोरिया पोपोभा ले सेकेन्ड रनर-अपको उपाधि हासिल गरिन्।

