Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

दुल्लु- दुल्लु नगरपालिका–१० राजाकांध गाउँकी ३० वर्षीया तीर्था नेपालीलाई एक गाग्री पानीको जाहो गर्न प्रत्येक दिन घण्टौँ समय बित्ने गर्दछ । बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन ।
गाउँ नजिकका सबै कुवा सुके । गाउँभरिकै पानीको मुख्य स्रोत भएको थामिधारा मात्र छ । त्यही धारामा नहिंडी परिवारको पानी पिउने र प्यास मेटाउने सपना अधुरै रहन्छ ।

यो समस्या गाउँका करीब ३० घरपरिवारका लागि उस्तै छ । “गाउँमा चार वटा कुवा थिए, ती सबै जेठ नलाग्दै सुके । अहिले त्यहीँ एउटा थामिधारा छ एक गाग्री पानी भर्नमै हाम्रो तँछाडमजाड हुन्छ”, स्थानीयवासी गणेश थापाले गुनासो गर्नुभयो ।

निर्वाचनमा सबैले यो गाउँमा खानेपानी योजना ल्याउने भनेर भोट मागे तर कसैले पनि आफूहरुको यो समस्या कसैले नसुनेको गाउँलेको भनाइ छ । खानेपानीको चरम समस्या झेल्दै आएका यस गाउँका मानिसहरू अहिले त्यो एउटा धाराको भरमा रहेको स्थानीय बिनोद योगीले बताउनुभयो ।

पानीको समस्याले शौचालय सफा गर्न र शारीरिक सरसफाइ गर्न नपाउँदा झाडापखाला फैलिने चिन्ता उत्तिकै भएको उहाँको आशङ्का छ । सरसफाइ कमीका कारण कोरोना महामारी फैलिने सम्भावना बढी भएपनि यहाँका वासिन्दालाई खानेपानीकै जोहोले सताएको छ ।

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले यस गाउँमा छिटै खानेपानीको व्यवस्थापन गरिने बताउनुभयो । एक वर्षभित्र लिप्टिङ योजनाबाट खानेपानीको समस्या समाधान हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय