Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताएका छन्। काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन् ।

शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको पनि दावी गरे। ‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भने ।
‘काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा पनि लिएका छौँ ।’ उहाँले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराए ।

भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आ.व.२०७७/०७८ को स्वीकृत बजेट अन्तर्गत नगर नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्वन्ध स्थापना भएको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी यो सम्झौता गरेका पनि गरेको छ ।

महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर भयो । सो सम्झौतापत्रमा पनि प्रमुखद्वय शाक्य र अर्यालले नै हस्ताक्षर गरे ।

कार्यक्रममा सम्वोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले काठमाडौँबासीसँग मेलम्चीको सम्बन्ध गहिरो रहेको भन्दै यो सम्बन्धले थप प्रगाढ हुने पनि बताए। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताइन् ।

काठमाडौँ महानगरपालिकाले यस अघि चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्) संयुक्त राज्य अमेरिकाका ४ वटा (युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग यस अघि नै भगिनी सम्वन्ध स्थापना गरिसकेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय