Thursday 18 April 2024 / शुक्रबार, ७ बैशाख २०८१

मेनका चौधरी (रासस)

बर्दिया, कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा कायम रहेको स्थितिमा नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने भएकाले बर्दियाको बारबर्दिया नगरपालिकाले सिकाइ निरन्तरताका लागि विद्यार्थीको घरघरमै शिक्षक पठाउने भएको छ ।

नगरपालिकाले सिकाइमा सघाउन अभिभावकलाई गृह शिक्षकका रुपमा जिम्मेवारी दिने नीति पनि लिएको छ । सो पालिकाले शैक्षिकसत्र २०७७ वार्षिक परीक्षाफल प्रकाशन गरी नेपाल सरकारको निर्णयानुसार आउँदो असार १ गतेदेखि शैक्षिकसत्रको आरम्भ गर्दैछ ।
नगरप्रमुख दुर्गाबहादुर थारु ‘कवीर’ ले महामारीका बेलामा भौतिक उपस्थितिमा विद्यालय खोल्न नसकिने भएकाले विद्यार्थीको सही सिकाइ र बुझाइ अभ्यासका लागि टोलटोलमा घुम्ती शिक्षक परिचालन गरी वैकल्पिक विधिबाट शैक्षिक वर्ष अघि बढाउने तयारी गरेको बताउनुभयो । नेपालकै पहिलो नगरस्तरीय परीक्षाफल प्रकाशन गरेको दाबी गर्ने सो नगरपालिकाले अब घरघरमा आफ्नो विद्यालय सेवाक्षेत्रका विद्यार्थी भर्ना, अभिलेखीकरण र पाठ्यपुस्तक वितरण अभियान सञ्चालन तथा अभिभावकलाई गृह शिक्षक नियुक्ति गर्ने प्रमुख थारुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अभिभावकले आफ्नो छोराछोरीको पढाइको रेखदेख गर्न सक्नुपर्ने भएकाले उहाँहरुलाई गृह शिक्षक बनाएर सहयोग लिँदैछौँ ।’’

नगरपालिका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईँले महामारी सामान्य नभएसम्मका भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नहुने र वैकल्पिक माध्यमबाट शैक्षिक कार्यक्रम अगाडि बढाउन कार्यविधि तय गरिएको बताउनुभयो । सो पालिकामा १५ वटा सामुदायिक र ४२ वटा निजी गरी कूल ५७ विद्यालय छन् ।

विद्यालयलाई ‘आराम कक्ष’

महिनावारी तथा स्वच्छता व्यवस्थापन सहयोगार्थ सुरक्षित स्थान निमार्णका लागि कमैया महिला जागरण समाज नेपालले आवश्यक सामग्रीसहित यहाँका विभिन्न विद्यालयलाई आराम कक्ष दिएको छ । महिनावारीकै कारण छात्राहरु कक्षा छोड्न नपरोस् र महिनावारी भएको बेलामा विद्यालयमै आराम गर्न मिलोस् भन्ने उद्देश्यले सो सामग्री सहयोग गरिएको हो ।

कक्षमा बेडसिट १ सेट, वेड साइड स्क्रिन १ सेट, बेड साइड लकर १ थान, फलामको खाट १ सेट, टेवल पङ्गाा १ थान र डस्टबिन १ थान गरी प्रति विद्यालय ४२ हजार ६ सय १० रुपैयाँ बराबरको सामग्री विद्यालयलाई सहयोग गरिएको छ । संस्थाले आफ्नो कार्यक्षेत्रका ९ वटा विद्यालयमा गरी भ्याटसहितको कुल तीन लाख ८३ हजार चार सय ९० रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । युनिलिभर र एक्सन एड नेपालको सहयोगमा सो समाजबाट सञ्चालित आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत सो सामग्री सहयोग गरिएको हो ।

सामग्री पाउने मध्येको एक जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रप्रसाद पौडेलले भन्नुभयो, ‘‘मानव जीवनचक्रको एक महत्वपूर्ण प्राकृतिक र नियमित अनिवार्य प्रक्रिया महिनावारी हुने समयमा छात्राहरुलाई केही अप्ठ्यारो हुँदा उनीहरु नियमित विद्यालय आउने वातावरण प्रतिकूल हुने स्थितिमा यस्ता सहयोग सकारात्मक हुनेछ ।’’
समाजका बालप्रयोजन अधिकृत रामलाल चौधरी, सामाजिक परिचालक खुशीराम चौधरी, राजेन्द्रप्रसाद थारुलगायतको सहभागिता रहेको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय