Thursday 12 December 2024 / शुक्रबार, २८ मंसिर २०८१

१७औं पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाका मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधामा मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरेको हो । यी सबै विधामा समान पाँचजनाको मनोनयन भएको मञ्चको सचिव तथा छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिएका छन् । मञ्चका अनुसार गत वर्ष मंसिरमा भएको १३औँ सागमा नेपाललाई दिएको सफलताको आधारमा खेलाडीदेखि प्रशिक्षक मनोनयन गरिएको हो ।
संयोजक रेग्मीको संयोजकत्वमा रहेको ११ सदस्य खेलाडी छनोट समितिले सार्वजनिक गरेको मनोनयनमा वर्षका उत्कृष्ट पुरुष खेलाडीमा कराँतेका मन्देकाजी श्रेष्ठ, गल्फका सुवास तामाङ, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन् ।
यसैगरी उत्कृष्ट महिला खेलाडीमा पौडीका गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र कराँतेकी अनु अधिकारी छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा गल्फका सुवास तामाङ, तेक्वान्दोकी सिना लिम्बू मादेन, तेक्वान्दोकै भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा छन् ।
सागमा नेपाललाई उत्कृष्ट नतिजा दिलाउनमा प्रशिक्षकको महत्वपूर्ण भूमिका निर्वाह गरेका तेक्वान्दोका नवीन श्रेष्ठ, कराँतेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।
पिपुल्स च्वाइस विधामा मनोनयनमा परेकाहरुको नाम यस अघि नै सार्वजनिक भइसकेको छ । जस अनुसार पौडीका गौरिका सिंह र कराँतेका मन्देकाजी श्रेष्ठेसँगै पिपुल्स च्वाइस विधामा भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनीत भएका छन् ।
अवार्ड कार्यक्रम पौष २८ गते ललितपुरको सातदोबाटोस्थित कराँते हलमा सेमिभर्चुअल हुनेछ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय