नेवार समुदायको मौलिक कला संस्कृति, भाषा, भेषभुषा लगायतका महत्वपूर्ण पक्षलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने हेतुले आयोजना गरिन लागिएको नेवार समुदायका युवतीहरुमा लक्षित मिस नेवाः वर्ल्ड २०२१ को घोषणा गरिएको छ । हालै राजधानीमा आयोजना गरिएको एक पत्रकार सम्मेलन मार्फत् सो प्रतियोगिता संचालन गरिन लागिएको बारेमा जानकारी प्रदान गरिएको हो । रेक्स फेसन होमको संयोजनमा काराओके इन्टरमेन्टको ब्यानरमा आयोजना गरिने सो प्रतियोगिताको कोरियोग्राफरका रुपमा मिस ग्राण्ड नेपाल २०१८ का विजेता एवं संचारकर्मी उरुषा जोशी रहनेछिन् । 
प्रतियोगितामा सहभागिता जनाउन नेवार समुदायका अविवाहित युवतीहरुले संसारको कुनै क्षेत्रबाट आवेदन दिन सक्नेछन् । प्रतियोगितामा १६ वर्ष देखि ३० वर्ष उमेर समूहका नेवार युवतीहरुले सहभागिता जनाउन सक्ने र सहभागि कम्तीमा पाँच फिट उँचाईको हुनुपर्ने आयोजक संस्थाका प्रमुख खगेश रंजीतकारले जानकारी दिएका छन् । मिस नेवाः वर्ल्ड २०२१ को घोषणा कार्यक्रम रेक्स फेसन होमका सिईओ रेक्स रंजितको सभापतित्वमा ब्युटी प्याजेन्ट एसोसियसनका केन्द्रिय उपाध्यक्ष तेन्जिङ शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम गायिका बुनु राई मानन्धर, नेपाल रास्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, उपाध्यक्ष मधु कार्की, गयिका सबिना मानन्धर लगायतको विशेष आतिथ्यमा बसन्तपुरस्थित द्वारिका छेँ होटलमा सम्पन्न भएको थियो ।


