Sunday 6 October 2024 / आईतवार, २० आश्विन २०८१

तनहुँ, “यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना,अनि दोलेहो कि, मोहनीले हो कि, यो नानीको शिरै ढल्केको हामी पनि रिसिङको, तिमी पनि रिसिङ्गको, लाइदेऊ माया एकै किसिमको……….”चर्चित गायक तथा सर्जक स्व. झलकमान गन्धर्वका यी कालजयी गीतका हरफहरूले तनहुँ रिसिङको संस्कृतिलाई झल्काएको मात्र छैन । गीत मार्फत गाउँलाई चिनाएको छ ।

नेपाली संगीतमा झलकमानदेखि प्रेमध्वज प्रधान र नयाँ पुस्ताका लोकप्रिय गायक विधान श्रेष्ठसम्मले यो गीतलाई विभिन्न कालखण्डमा गाएका कारण आज पनि रिसिङको नाम चर्चामा छ । गाउँलाई चर्चामा ल्याउन कुनै जमनामा गीतसंगीतलाई गतिलो माध्यमका रुपमा प्रयोग गरियो । अहिले पनि यो माध्यम प्रयोग गरिरहेका छन । पछिल्लो समय गाउँठाउँलाई चिनाउन म्याराथन पनि गर्दै आइरहेको छ । सांस्कृतिक, प्राकृतिक ,ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना गाउँपालिका माध्ये तनहुँको रिसिङ पनि एक हो ।रिसिङलाई समृद्घिको आधार नै कृषि,संस्कृति, पर्यटनलाई मानेको छ ।

रिसिङको पर्यटन प्रर्बद्धन गर्न गाउँपालिकाले पहिलो पटक रिसिङ म्याराथनको आयोजना गरेको छ । यही पुस २७ गते गाउँपालिकामा रहेका पर्यटकिय गन्तव्यको प्रर्बद्धन गर्न म्याराथन आयोजना गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘पहिले रिसिङलाई गीतले चिनायो,‘ उनले भने, ‘अव खेलकुदले चिनाउने हो ।’ रिसिङ पर्यटकीय सम्भावना बोकेका धेरै गन्तवय छन । तर, प्रचारप्रसार अभावमा आझेलमा परेका छन । त्यसैले म्याराथनको माध्यमबाट तीन गन्तव्यको प्रबद्र्धनमा जुटेका हौ ।
खुल्ला, स्थानीय र महिला गरी तीन विधामा दौड हुने रिसिङका । खुलातर्फ ४२ किलोमिटर दूरीमा धावकहरु दौडनेछन् । रिसिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट,, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ ।यो विधामा प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सान्त्वना हुने ३ जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार दिईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

स्थानीय दौड गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलछाप, केउराडी, ज्यामिरेमाई मन्दिर सम्म १० किलोमिटरको दुरीमा हुनेछ । यो दुरीको दौडमा प्रथम हुने धावकले नगद १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिला दौड ४ किलोमिटर दुरीमा हुनेछ । गढीडाँडा, रानीपोखरी, गोर्खालाी चौतारी, गैह्रथोक, दुर्गा मन्दिर, कोटदरबार दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडनेछन् । यो विधामा प्रथम हुनेले नगद १० हजार रुपैयाँ, दोस्रोले ८ हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।

१६औँ शताब्दीमा श्रृङ्ग ऋषिको तपोभूमिका रूपमासमेत परिचित यो ठाँउ चौबिसे राज्यपूर्व यहाँ मगरहरूको स–साना राज्यहरू रहेको इतिहास भेटिन्छ । वि.सं १६१० ताका पाल्पाका राजा मुकुन्द सेनका भतिजा सम सेनले यहाँ राज्य गरेका र पछि यिनी निःसन्तान भएर परलोक भएपछि यसलाई तनहुँको राज्यमा समावेश गरिएको आलेखहरूमा उल्लेख गरिएको पाइन्छ । यहाँ रहेको प्रसिद्ध रानीपोखरी रिसिङ्गको अर्को विशेषता मानिन्छ ।
यो पोखरी मगर राजाको पालामा निर्माण भएको हो वा सेन राजाका पालामा यकिन छैन । रानीपोखरीको पश्चिमपट्टि एउटा सानो कुवा छ, जुन कुवामा उत्तरबाट सेती नदी र दक्षिणबाट कालीगण्डकीको पानी जम्मा भएको र उक्त पानी सेवन गरेपछि रोगव्याधि लाग्दैन, भन्ने किंवदन्ती छ ।

स्थानीय जनताको यस कथनमा सत्ययुगमा यहाँ ‘श्रृङ्ग ऋषि’ आएर तपस्या गरेका थिए । यिनै ऋषिको नामबाट अपभ्रंश भएर यस ठाउँको नाम रिसिङ्ग रहेको हो भन्ने गरिन्छ । अर्को भनाइअनुसार सेती गण्डकीदेखि दक्षिण तथा कालीदेखि उत्तरमा अवस्थित पूर्व–पश्चिम पसारिएर बसेको डाँडालाई श्रृङ्ग ऋषिको आश्रम भनिएको छ । देवभूमि भारत एवं आध्यात्मिक नेपाल ग्रन्थको श्लोक संख्या ९३÷९५ मा भनिएअनुसार श्रृङ्ग ऋषिको जन्मभूमि ऋषिङ्ग तथा तपोभूमि दमौलीदेखि दक्षिणपूर्वमा पर्ने तनहुँको सेती गण्डकी सराङघाटमा भएको बुझिन्छ ।

समुद्र सतहदेखि ११२० मिटर उचाइमा अवस्थित यस ठाउँमा प्रशस्त भिरालो जमिन छन् । ऐतिहासिक तथा पुरातात्विक इतिहास बोकेको रिसिङ्गले विकासको अधिक सम्भावना बोकेको छ । त्यहाँ रहेका ऐतिहासिक संरचनाहरू राजदरबारको भग्नावशेष, रानीपोखरी, अजम्बरी माईको मन्दिर, जलजला मन्दिर, कोटदरबार, गुफा मुख्य आकर्षण हुन् । तर, ती सम्पदाको उचित संरक्षण हुन नसकेको स्थानीय बताउँछन् । भिरालो जमिनमा परम्परागत रूपमा बनेका घरले अझै पनि रिसिङ्गको मौलिकतालाई जोगाइराखेका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय