Friday 16 January 2026 / शनिबार, ३ माघ २०८२

जाजरकोट,सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ । चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ ।

प्रहरीचौकी नजिकै बन्दुकद्वारा भकाभक वन्यजन्तु मर्दासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको उनीहरुको आरोप छ । प्रहरी कार्यालयभित्र नै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान दिँदैनन् बारेकोट गाउँपालिका–४ का काली बस्नेतले बताउनुभयो । बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडी, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिङ्गा, तिमीलेलगायत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइरहेको वन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाइ छ ।

शिकारीले भरुवा बन्दुक, पासो थापेर र शिकारी कुकुरको प्रयोग गरेर जङ्गली जनावर मार्ने गरेका छन् । ‘‘गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन’’, सिंहले भन्नुभयो । जिल्लाका विभिन्न भेगमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, कालिजलगायत जङ्गली जनावर तथा पक्षीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ । वन एकाइमा कार्यरत वन प्राविधिक तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यान दिन नसकेको नलगाड–४ का गोविन्द्र वलीले बताउनुभयो ।

डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पूर्णबहादुर चन्दले चोरी शिकार नियन्त्रण गर्न डिभिजन वन कार्यालयले काम गरिरहेको बताउनुभयो । अतिक्रमण, डढेलो, चरिचरनलगायत कारण वन विनाश बढेपछि पनि जङ्गली जनावर तथा पक्षीको वासस्थानसमेत नष्ट हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय