काठमाडौं, नेपाली मोडलिङ वृत्तमा आयोजना, प्रस्तुति र चर्चाका दृष्टिकोणले सबैभन्दा वृहत् तथा स्तरीय मानिएको मोडलिङ प्रतिस्पर्धा मोडल हन्ट नेपालको छैठौं संस्करणको तयारी अगाडि बढेको छ । सोही अनुरुप प्रतियोगितामा सहभागिता जनाउन इच्छुक युवा युवतीका लागि आवेदन खुल्ला गरिएको छ । नेक्स्ट मोडल्स नेपालको ब्यानरमा आयोजना हुँदै आएको यो प्रतियोगिताले नेपाली मोडलिङ क्षेत्रको विकास विस्तारमा योगदान पु¥याउने उद्देश्य अनुरुप व्यवसायिक मोडलहरुको उत्पादनमा अग्रसरता देखाएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक युवा युवती १६ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने, युवाको हकमा कम्तीमा पाँच फिट ६ इन्च उँचाई तथा युवतीको हकमा कम्तीमा पाँच फिट दुई इन्च उँचाई हुनुपर्ने मुख्य प्रावधान रहेको छ ।
प्रतियोगिता अन्तर्गत ३५ दिनको मोडलिङ सम्बन्धी विविध विषयमा ग्रुमिङ गरिनुका साथै प्रतियोगिता पूर्ण रुपमा मोडलिङको विविध पक्षमा आधारित रहेर मुल्यांकन गरिने बताइएको छ । जस अन्तर्गत सहभागिको व्यक्तित्व, शारारिक बनावट, मोडल हिंडाई, आत्मविश्वास, एटिट्युड, विभिन्न थीममा आधारित फोटोशुट, रनवे प्रस्तुतिकरण लगायतका पक्षहरु रहेका छन् । प्रतियोगितामा उत्कृष्ट ठहरिएकाले दक्षिण कोरियामा सचालन हुने लक्जरी ब्राण्ड मोडल अवार्डमा सहभागिताको अवसर प्राप्त गर्नेछन् भने मोडलिङको विभिन्न विधा तथा मिडिया विशेष अवसर प्राप्त गर्नेछन् । यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागिता, वेभ म्यागाजिनको कभर पेजमा देखिने मौका प्राप्त गर्ने कुरा आयोजक पक्षले उल्लेख गरेको छ ।