काठमाडौं, पर्यावरण संरक्षण अभियन्ता धनुषाका ओमप्रकाश भनेर चिनिने दिलीप महतोको हत्या भएको आज एक वर्ष पूरा भएको छ। २०७६ साल पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर २४ वर्षीय दिलिपको हत्या गरिएकाे थियाे।
यस हत्या विरुद्ध युथ एसोसिएसन अफ नेपाल – यानले विभिन्न माग राखी गत वर्ष देखी नै कार्यक्रमहरु गर्दै आएको छ। गत वर्ष श्रद्धाञ्जली कार्यक्रम बाट सुरुवात गर्दै यानले विरोध कार्यक्रम, जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने देखि लिएर राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय समेतमा ज्ञापन पत्र बुझाएको थियो। त्यस पछि पनि यानले उक्त घटना केलाउदै विरोध कार्यक्रमहरु गर्दै आएको थियो।
यसै क्रममा आज महतोको पुण्यतिथिमा यानले काठमाडौं र जनकपुरमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रमको आयोजना गरेको थियो।
बेलुका पाँच बजे युथ एसोसिएसन अफ नेपाल- यानको आयोजनामा जनकपुरधाम स्थित जानकी मन्दिरको प्रांगणमा उक्त कार्यक्रमको आयोजना गरेको थियो। यान धनुषा जिल्ला सदस्य बलराम गुप्ताको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा करिब चालीस जना युवाको उपस्थिति रहेको थियो।
यता बेलुका पाँच बजे नै युथ एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौं माइतीघरमा पनि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम भएको छ। महोत्तरी युथ नेटवर्क सँगको सहकार्यमा भएको कार्यक्रमको नेतृत्व यान केन्द्रिय सदस्य सिवा सिंहले गरेको थियो।
युवाहरूले कार्यक्रममा “दिलिप महतोलाई प्रथम पर्यावरण सहिद घोषणा गर, हत्यारालाई के कार्वाही भयो एकपटक जानकारी गराइदिनुस न सरकार, दिलिप महतोलाई न्याय दे” लगायतका नाराहरु लगाउदै दिप प्रजवलन गरि श्रद्धाञ्जली अर्पण गरे पश्चात् कोण सभामा परिण्त गरेको थियो।
युथ एसोसिएसन अफ नेपाल – यानको तर्फबाट महोत्तरी युथ नेटवर्कको अध्यक्ष चुडामणि यादवले “हामी एक वर्ष देखि विभिन्न कार्यक्रमहरु गर्दै संघर्ष गर्दै आएका छौ र हाम्रो माग पूरा नभएसम्म, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा नगरेसम्म हामी संघर्षरत रहने छौ” भनेर जानकारी गराउनु भयो।
यस्तै कार्यक्रममा समाजसेवी सरोज रायले आफुहरु चुरे संरक्षण आन्दोलन अन्तर्गत प्रदेश न. २ को आठवटै जिल्लामा दिलिप महतोको हत्या र चुरे दोहन विरुद्ध आवाज उठाउदै आएको जानकारी गराउनु भयो। उनले कुनै निष्कर्षमा नपुगी यस घटनालाई ओझेल हुन दिने छैनौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा समाजसेवी सरोज राय, यानका संस्थापक अध्यक्ष राहुलराज यादव, केन्द्रिय अध्यक्ष आदित्य नेपाल, केन्द्रिय उपाध्यक्ष मनिसा साह, युवा बिटु मिश्र, महोत्तरी युथ नेटवर्कका अध्यक्ष चुडामणि यादव, लगायत करिब पैतिस चालीस जना यानका सदस्यहरु, मेनिका सदस्यहरु र स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो।