नुवाकोट, जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उनीलगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले र कोषाध्यक्षमा रामचन्द्र तामाङ चयन भए । यस्तै सदस्यहरुमा ध्रुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर छन् ।
संघको नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन् । समारोहका प्रमुख अतिथि नुवाकोट तेक्वान्दो संघका संरक्षक, पर्यटन ब्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
उनले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रुपमा परिचित नुवाकोटले आगामी दिनहरुमा अरु राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको औंल्याए।
यस्तै वागमती प्रदेश अध्यक्ष केशब पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमी आएकोले त्यसको कारण खोजेर जिल्ला संघहरु अघि बढ्नुपर्ने बताए । डोजाङका प्रमुखहरुलाई बलियो बनाएको खण्डमा तेक्वान्दोको विकास हुने उनको भनाइ थियो ।
एशियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्दी तामाङ, नुवाकोट उद्योग वाणिज्य सघका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारी लगायतले नुवाकोट तेक्वान्दो संघ साझा समझदारी र साझा सहकार्य गरि अघि बढेकोले जिल्लालाई तेक्वान्दोको क्षेत्रमा उत्कृष्ट बनाउन नवनिर्वाचित कार्य समिति सफल हुनेछ भन्ने अपेक्षा गरिएको बताए ।
नवनिर्वाचित अध्यक्ष शरणउत्सुक सापकोटाले तेक्वान्दोको खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
विदुर नगरपालिका वडा नम्बर २ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सञ्चालनलाई अनुमति दिने अध्यक्ष सापकोटाले बताए
संघले वर्षमा एक पटक प्रतियोगिता सञ्चालन गर्ने, पालिकास्तरीय समिति गठन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने उनको योजना छ ।


