सुदूरपश्चिम, कोरोना भाइरसको रोकथाम र सङ्क्रमितको उपचार व्यवस्थापन लगायतको काममा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीले दिनरात नभनी कार्यसम्पादन गरिरहेका छन् ।
सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिम पनि बढी हुन्छ । कोरोना जोखिमकाबीच अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित पनि भइरहेका छन् भने यो रोगको सङ्क्रमणकै कारण कतिपय व्यक्तिको मृत्यु भएको छ । काम गर्ने क्रममा सङ्क्रमित भएका उपचार व्यवस्थापनपछि पुनःआफ्नो काममा फर्किइरहेका पनि छन् । यस्ता कर्मचारीको मनोबल उच्च बनाउन सरकारले जोखिम भत्ता उपलब्ध गराइरहेको छ । तर अहिलेसम्म धेरै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसकेको गुनासो आउन थालेको छ ।
कैलालीको त्रिनगर सीमा नाकाको ‘हेल्थ डेस्क’मा खटिनुभएका अहेब गणेश साउदले धेरै स्वास्थ्यकर्मीले अहिलेसम्म सरकारले तोकेको जोखिम भत्ता पाउन नसकेको बताउनुभयोे । ‘‘सङ्क्रमणको जोखिम मोलेर काम गर्नेलाई जोखिम भत्ता दिने सरकारको निर्णयले स्वास्थ्यकर्मीमा हौसला बढेको थियो’’,उहाँले भन्नुभयो,‘‘विभिन्न संघ संस्थावाट खटिएर आफूहरुकै टोलीमा काम गर्ने कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता आपूmले भने पाउन सकेका छैन ।’’
सम्बन्धित निकाय वा कार्यालयले आफ्ना नजिकका र पहुँच पुगेका स्वास्थ्यकर्मीलाई मात्र यस्तो भत्ता दिने गरेको उहाँको गुनासो छ । उक्त हेल्थ डेस्कमा काम गर्नेमध्ये गएको जेठ महिनामा आठजना स्वास्थ्यकर्मी सङ्क्रमित पनि हुनुपरेको थियो । उहाँहरु आइसोलेशनमा बसेर उपचार व्यवस्थापनपछि पुनःकाममा फर्किनुभएको थियो ।
सङ्क्रमण भई १० दिन धनगढीको कनरीस्थित आइसोलेशनमा बस्नुभएका अर्का एकजना स्वास्थ्यकर्मीले भन्नुभयो,‘‘जोखिम भत्ता नपाएर पनि सङ्क्रणको जोखिमकाबीच आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु पछि परेका छैनौं ।’’ हेल्थ डेस्कमा विभिन्न सङ्घ संस्थाबाट खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाइरहँदा पुनरर्वास नगरपालिका कार्यालयबाट खटिएका नौजना स्वास्थ्यकर्मीले अहिलेसम्म यस्तो भत्ता नपाएको जनाइएको छ । ‘‘सरकारले मासिक तलबको ५० प्रतिशतका दरले जोखिम भत्ता दिने भन्ने सुनिएको थियो’’, हेल्थ डेस्कका स्वास्थ्यकर्मीले भन्नुभयो,‘‘यस्तो भत्ता नपाए पनि स्वास्थ्य सेवामा खटिनुपर्ने भूमिका निर्वाह गरिरहेका छौं, कामलाई कतव्र्य सम्झेर काम गरिरहेकै छौं ।’’
हेल्थ डेस्कमा भारतबाट भित्रिने नागरिकको एन्टिजेन परीक्षणका अलावा मलेरिया र क्षयरोगको पनि नमूना सङ्कलन गर्ने गरिएको छ । ‘‘नमूना जाँच गर्दा सङ्क्रमित भेटिएमा सम्बन्धित व्यक्तिलाई एम्बुलेन्समार्फत् आइसोलेशन पु¥याइन्छ,’’ हेल्थ डेस्कका कर्मचारीले भन्नुभयो,‘‘नतिजा नेगेटिभ आएकालाई भने मास्क उपलब्ध गराई स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौं ।’’



