विराटनगर, नेकपा विभाजनका कारण नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा छ । गत बिहीबार गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा छन् ।
सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो समय माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षका १० जना सांसद खुलेका छन् ।
ती सांसदहरू एमालेमा नफर्किने प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरे बताउँछन् । ‘हामी १० जना मोही पार्दा निस्किएको नौनीको पनि क्रिम जस्तै हौं, दायाँ–बायाँ हुन्नौं’ उनले भने, ‘यो संख्या घट्दैन, बढ्दैछ ।’


