काठमाडौँ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नभएको संकेत गरेका छन् । नेकपा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले भदौ २२ सम्म दिएको दल रोज्ने समयसीमा यता मन्त्रिपरिषद् विस्तार नहुने भएको हो । असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएर साउन ३ मा विश्वासको मत लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले ६ सदस्यीय क्याबिनेट चलाइरहेका छन् ।
असार २९ मा नियुक्त चार जना मन्त्री र साउन १० मा नियुक्त एक जना राज्यमन्त्रीबाटै देउवाले देश हाँकिरहेका छन् ।
यस्तोमा अझै पनि भदौ २३ यता क्याबिनेट विस्तारको सम्भावना टर्दै गएको हो । सत्तारुढ गठबन्धनको सदस्य नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका छन् ।


