मिस नेपाल युएसको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिने मिस नेपाल युएस २०२१ प्रतियोगिताका लागि १० जना फाइनलिष्टहरु निक्र्यौल भएका छन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु उपाधि दौडका लागि चयन भएका छन् । फाइनल प्रतिस्पर्धा यही सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुनेछ ।
प्रतियोगिताका लागि माल्भिका सुब्बा अफिसियल मेन्टर र ट्रेनर, मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठ अफिसियल कोरियोग्राफर, विश्व गौतम अफिसियल फेसन डिजाइनर तथा ग्रुमिङ कोच, मिस युनिभर्स नेपाल २०२० अन्शिका शर्मा ग्रमिङ कोचका रुपमा रहेका छन् भने संचारकर्मी संजय सिलवाल गुप्ता कार्यक्रम संचालकका रुपमा रहनेछन् । सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । प्रतियोगिताले आफ्नो आरम्भ समयदेखि युवा अवस्थाका महिलाहरुको सशक्तिकरण, युवा नेटवर्किङ, नेप्लीज अमेरिकन कल्चुरल हेरिटेज सेलिब्रेसन गर्दै सहभागिहरुको व्यक्तित्व र बौद्धिकताको प्रभावकारीता र विस्तारमा योगदान पु¥याउँदै आएको छ ।
यसैवीच मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु भएको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगष्टमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहास सहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।
हालसम्म सुजिता बस्नेत, आस्था श्रेष्ठ, वर्तिका राई, खुश्बु मिश्र, प्रियंका थपलिया, दिलाशा न्यौपाने र सुरभि खनाल मिस नेपाल युएसका रुपमा छनौट भैसकेका छन् ।


