नारी मासिककोे असोज महिनाको संस्करणमा टिकटक क्वीनका रुपमा कहलिएकी रेश्मा घिमिरे देखिएकी छिन् । पत्रिकाको आवरण पृष्ठमा देखिएकी रेश्माको सुन्दर तस्वीरहरुलाई ग्ल्यामर फोटोग्राफर महेश प्रधानले खिंचेका हुन् भने फोटोशुट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको सन डाउन केटिएम बाइ कर्मामा गरिएको हो । रेश्माले पहिरिएको सुन्दर एवं आकर्षक पहिरनहरु नक्साल स्थित हाउस अफ अपेरलका हुन् भने रेश्माको सुन्दरतामा एनेक्स नेपालको गहनाले थप आकर्षक बनाएको देखिन्छ । रेश्माको मेकअप र हेयर स्टाइलिङमा हाउस अफ फेसन, ब्युटी मेकअप स्टुडियोकी मेकअप आर्टिष्ट छिम्मी गुरुङको कमाल देख्न सकिन्छ । 
मोरङ विराटनगरी रेश्मा घिमिरे पेशाले नर्स हुन् । १७ वर्षको उमेरमा मोडलिङ क्षेत्र हुँदै ग्ल्यामर परिवेशमा उदाएकी रेश्मा विराटनगरमा सम्पन्न भएको मिस पूर्वेली सुपर मोडल २०१४ की विजेता हुन् । उनले २०१७ मा ‘यो साइनो मायाको’ नामक चलचित्रबाट नेपाली रजटपटमा नायिकाको रुपमा डेब्यु गरेकी हुन् । टिकटकमा प्रवेश गरेसंगै चर्चा कमाउँदै गएकी रेश्मा अहिले चर्चित नेपाली टिकटकर मध्येकी एक हुन् । हालको टिकटकमा १.२ मिलियन फोलोअर रहेको छ भने ३५.८ मिलियन भन्दा बडी लाइक रहेको छ । टिकटकको पपुलारिटी संगै रेश्माको म्युजिक भिडियोमा उपस्थिति पनि बाँक्लिदै गएको छ । काली प्रसाद बाँसकोटाको इन्स्टाको फोटो ….. बोलको गीतको भिडियो मार्फत् उनी लोकप्रिय बनेकी थिइन् । पछिल्लो समय उनी नेपाल आइडलको चौथो संस्करणको फिमेल होस्टका रुपमा पनि प्रस्तुत हुँदैछिन् ।


