Sunday 5 December 2021 / आईतवार, १९ मंसिर २०७८

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेशमा यसै वर्ष आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न खेल सङ्घहरूलाई आग्रह गर्नुभएको छ ।

कास्की जिल्ला बक्सिङ सङ्घको नवनिर्वाचित पदाधिकारीको आज पदस्थापन कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले खेल सङ्घहरुको तयारीका लागि बजेट विनियोजन गरेकाले तयारी सुरु गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले तयारीका लागि रु ५० लाख बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद यही वर्ष आगामी फागुनमा आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद्को छ । गत वर्ष फागुन अन्तिम साता प्रतियोगिताको मिति तोकिएकामा कोभिड–१९ का कारण स्थगन गरिएको थियो । खेलकुदमन्त्री गुरुङले खेलकुदभित्र राजनीतिकरण गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “खेलकुदभित्र राजनीतिकरण हुनुहुँदैन, सबै अट्नुपर्दछ ।” प्रदेशका सबै जिल्लामा फुटबलबाहेक अन्य खेलको अवस्था दयनीय भएको उल्लेख गर्दै अन्य खेलको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रदेशमा केवल सात÷आठवटा खेलको मात्रै प्रशिक्षक रहेकाले अब तत्कालै पदक जित्ने खेललाई प्राथमिकतामा राखेर प्रशिक्षक व्यवस्था गरिने बताउनुभयो । सङ्घका अध्यक्ष सुमन श्रेष्ठले प्रशिक्षकसँगै प्रशिक्षणको लागि ग्लोब्स, हेडगार्ड, किक ब्याग, पन्चिङ ब्यागलगायतका सामान आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशको ११वटै जिल्लामा प्रशिक्षक नभएकाले तत्कालै प्रशिक्षण सुरु गर्न अप्ठ्यारो रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर