चितवन,नयाँ नेतृत्व चयनका लागि शुक्रबार शुरु हुने १०औं महाधिवेशनको तयारी बिहीबार साँझसम्म पूरा भएको नेकपा एमालेले जनाएको छ । पाँच लाख जनसहभागिता गराउने दाबीसहित एमालेले नारायणी नदीको किनारामा उद्घाटन समारोहको मञ्च तयार पारेको छ ।
यो महाधिवेशनबाट नेतृत्व चयनसँगै राजनीतिक सन्देश समेत दिने भन्दै केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्, ‘यो महाधिवेशनले फेरि पनि एमाले मुलुकको प्रमुख शक्ति हो भन्ने प्रमाणित गर्नेछ । त्यही अनुसार तयारी पनि छ ।’
महाधिवेशनलाई भव्यता दिन पार्टी झण्डा, एक सिंगे गैडाको तस्वीरसहित चुनाव चिन्ह सूर्य र पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद उल्लेखित ब्यानरले मञ्च सजाइएको छ । कम्युनिष्ट पार्टीको झण्डा समातेको गैंडाको मस्कट उभ्याइएको छ भने चितवनका प्रमुख सडक र भित्ताहरुलाई महाधिवेशनमय बनाइएको छ ।


