हाल थाइल्याण्डमा संचालन भइरहेको नवौं संस्करणको मिस ग्राण्ड इन्टरनेसनल २०२१ अन्तर्गतको नेसनल कस्ट्युम कम्पिटिसनमा नेपालको तर्फबाट सहभागि भएकी रोनाली अमात्यले रातो मछेन्द्रनाथ, करुणामयबाट प्रेरित नेसनल कस्ट्युम प्रस्तुत गरेकी छिन् । सो पहिरनलाई नोभेम्बर ३० तारिखमा संचालन भएको नेसनल कस्ट्युम कम्पिटिसनमा प्रस्तुत गरिएको थियो । नेसनल कस्ट्युम कम्पिटिसनमा विभिन्न देशका सुन्दरीहरुले आ आफ्नो देश, राष्ट्रियता, जातियता, कला संस्कृति, चाडपर्व लगायतका विविध कुरा झल्काउने पहिरन प्रस्तुत गरेका थिए । रोनाली अमात्यले प्रस्तुत गरेको नेसनल कस्ट्युम रातो मछेन्द्रनाथ करुणामयको प्रतिक थियो । पहिरनको डिजाइन फेसन डिजाइनर प्रज्ञा चित्रकार तथा उनको सिम्रिक डिजाइन स्टुडियो टिमले गरेको थियो । पहिरनमा क्राफ्टम्यानशीप सुदन मुनिकारको थियो भने ज्वलेरी एसटिमहर्जनको । नेसनल कस्ट्युम सहितको रोनालीको तस्वीरलाई फेसन फोटोग्राफर सुजन श्रेष्ठले खिंचेका हुन् भने निलिमा बस्नेतले रोनालीको लुकलाई ग्ल्यामअप गरेकी हुन् ।

सो पहिरनमा वर्षा र सहकालकी देवीका रुपमा कहलिएकी रातो मछेन्द्रनाथ करुणामय देवी र उनको जात्रामा प्रयोग गरिने रथको स्वरुप समेतलाई प्रस्तुत गरिएको थियो । पोशाकमा रथको स्वरुप तयार पार्नका लागि हातले बनाएका रेशमका ट्यासलहरु सहित हातको ईम्ब्रोइडरी भएको रेशमको स्कर्ट र ब्लाउज रहेको छ । डिजाइनमा पटा भनेर चिनिने टेपेस्ट्रीलाई केन्द्रका रुपमा राखिएको छ । यसलाई अष्टमंगलको राम्रो विवरण सहित ह्यान्डलुम सिल्कमा आकर्षक रुपमा ईम्ब्रोइडर्ड गरिएको छ । यो लुकलाई रथको पाङ्ग्राको स्वरुप सहित पूर्णता दिइएको छ । सम्पूर्ण पहिरन लगभग २० के.जी.को रहेको छ भने यसलाई तयार पार्न कूल आठ सय घण्टा खर्च भएको बताइएको छ ।
मिस ग्राण्ड इन्टरनेसनल २०२१ को फाइनल प्रतिस्पर्धा यही डिसेम्बर ४ तारिखमा थाइल्याण्डमा संचालन हुँदैछ ।


