काठमाडाँमा सञ्चालन हुने ‘प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनोट खेल आजदेखी पोखरामा सुरु भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको पुरुषतर्फको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँलाई चार विकेटले पराजित गरेको छ । खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाउनुभयो । ७१ बलको सामना गर्नुभएका उहाँले पाँच चौका र चार छक्का प्रहार गर्नुभयो ।
त्यस्तै दिनेश बुढामगरले ४३ रन जोड्नुभयो । कास्कीको बलिङतर्फ अमृत गुरुङ्गले तीन, कृष्ण पौडेलले दुई तथा कप्तान विपिन खत्रीले एक विकेट लिन सफल हुनुभयो । खेलमा विजयका लागि १८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३० दशमलव चार ओभरमा मात्रै छ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
कास्कीको तर्फबाट ‘म्यान अफ दी म्याच’ घोषित अनिल गुरुङले ७० तथा विधान श्रेष्ठले ६६ रन जोड्नुभयो । अनिलले आठ चौका तथा दुई छक्का प्रहार गर्नुभयो । विद्यानले १० चौका हिर्काउनुभयो । तनहुुँका बलर चन्द्रकान्त पौडेलले तीन, अभिषेक बस्नेतले दुई तथा दिवस आचार्यले एक विकेट लिनुभयो । छनोट प्रतियोगिता आगामी पुस १३ गतेसम्म सञ्चालन हुने छ । छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रधानमन्त्री कपका लागि गण्डकीको टोली घोषणा गरिने बताइन्छ ।


